रौतहट, १७ भदौ । रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली घरमै झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । राजपुर नगरपालिका–५ निवासी ८८ वर्षीय साह बुधबार बिहान आफ्नै घरको ढोकाको चौकसमा धोतीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार घटनाबारे बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय राजपुरमा जानकारी प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको थियो ।
इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी वरिष्ठ सई चेतप्रसाद फुयालको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर विश्वनाथ यादवको कमाण्डमा अर्को टोलीसमेत खटाइएको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय राजपुरबाट करिब ३ किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ । साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।
अझै खुलेन घटनाको कारण
८८ वर्षीय वृद्धको मृत्युको घटना भएकाले यसको वास्तविक कारणबारे विभिन्न प्रश्न उठेका छन् । यद्यपि, प्रहरीले घटनालाई लिएर अहिलेसम्म कुनै निष्कर्ष सार्वजनिक गरेको छैन । प्रहरीले घटनास्थलको अवस्था, प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टका आधारमा मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसैबीच, घटनाको खबर फैलिएपछि पूर्वसांसद साहको निवासमा आफन्त, स्थानीयवासी तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ । परिवारमा परेको दुःखद घटनाप्रति स्थानीयस्तरमा समेत शोक व्यक्त गरिएको छ ।











प्रतिक्रिया