बाढीपीडितको राहत र उद्धारमा दलहरू एकजुट, तल्लो तहसम्म संयन्त्र बनाइने

काठमाडौं, १६ भदौ । बाढी प्रभावित नागरिकको खोज–उद्धार, राहत तथा पुनःस्थापनाका लागि केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको छ । सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्रलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गर्ने सहमति भएको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार केन्द्रमा जसरी सर्वदलीय संयन्त्रमार्फत छलफल र समन्वय भइरहेको छ, त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहमा पनि राजनीतिक दलहरूको सहभागितामा संयन्त्र गठन गरेर खोज–उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाइनेछ ।

उहाँले स्थानीय तहमा पालिका अध्यक्ष तथा प्रदेशमा मुख्यमन्त्रीको नेतृत्वमा सर्वदलीय संयन्त्र गठन गरेर अघि बढ्न सरकारलाई सुझाव दिइएको बताउनुभयो । सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनु उपयुक्त हुने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यसका लागि पहल गरेको उहाँले बताउनुभयो ।

विपद्को अवस्थामा सबै राजनीतिक दललाई समेटेर समन्वय गर्न सरकारले पनि थप चासो र सक्रियता देखाउनुपर्ने उहाँको भनाइ छ । यस्तै, रास्वपाका प्रवक्ता जगदीश खरेलले केन्द्रमा रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएजस्तै बागमती प्रदेश, बाढी प्रभावित जिल्ला तथा पालिकाहरूमा पनि राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको बताउनुभयो ।

उहाँले यस्ता संयन्त्रले सरकारसँग समन्वय गर्दै प्रभावित नागरिकको खोज–उद्धार, राहत वितरणदेखि पुनःनिर्माण तथा पुनःस्थापनासम्मका काममा सहजीकरण गर्ने जानकारी दिनुभयो । विपद्को समयमा सरकारी संयन्त्रसँगै राजनीतिक दल, स्थानीय तह र नागरिकस्तरबाट हुने प्रयासलाई एकीकृत गरी प्रभावित नागरिकसम्म राहत तथा उद्धार छिटो र प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यस्तो संयन्त्र निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति: १६ भदौ २०८३, मंगलबार  १८ : ४६  बजे