राष्ट्रिय शोक दिवस घोषणा गर्न माग

काठमाडौं, १६ भदौ । राष्ट्रियसभा सदस्य युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

आज बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उहाँले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीलाई जलवायु परिवर्तनसँगै मानव गतिविधिका कारण सिर्जित दुष्चक्रको प्रारम्भिक संकेतका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

‘भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयो,‘बाढीमा ज्यान गुमाउनुभएकाहरूप्रति हार्दिक शोक व्यक्त गर्दछु ।’

उहाँले नेपालको कमजोर सूचना तथा पूर्वसूचना प्रणालीलाई अत्याधुनिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । विपद् भइसकेपछि अब सरकारको सम्पूर्ण ध्यान खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।

‘जे नहुनुपर्ने थियो, त्यो भइसक्यो । अब खोजी, राहत, उद्धार र पुनर्स्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्दछ,’ उहाँले भन्नुभयो । उहाँले विपद्को समयमा प्रचारभन्दा परिणाममुखी कामलाई प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति: १६ भदौ २०८३, मंगलबार  १३ : ५३  बजे