मोदी–पुटिन भेट : ‘युक्रेन–रुस युद्ध अन्त्य गर्नुपर्छ’

काठमाडौं, १६ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको छ।

किर्गिस्तानको राजधानी बिस्केकमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा भएको भेटवार्तामा मोदीले रुस–युक्रेन युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ।

मोदीले युद्धको प्रत्येक दिनले मानवतालाई पछाडि धकेलिरहेको भन्दै भारत शान्तिका सबै प्रयासको पक्षमा रहेको बताउनुभयो।

‘म युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्ने पक्षमा छु, किनकि युद्धका हरेक दिनले मानवतालाई पछाडि धकेलिरहेका छन्,’ मोदीले पुटिनसँग भन्नुभयो।

उहाँले भारतले सुरुदेखि नै युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने प्रयासलाई समर्थन गर्दै आएको र आगामी दिनमा पनि शान्तिका प्रयासलाई समर्थन गरिरहने बताउनुभयो।

‘युद्धका हरेक दिनले मानवतालाई पछाडि धकेल्छ भने शान्तितर्फ चालिएका हरेक कदमले नयाँ आशा सिर्जना गर्छ। हामीले अन्तहीन युद्धबाट युद्ध अन्त्यतर्फ जानुपर्छ। यो मानव कल्याणका लागि आवश्यक छ,’ मोदीले भन्नुभयो।

भेटका क्रममा मोदीले पुटिनको अघिल्लो भारत भ्रमणलाई सफल र अविस्मरणीय भ्रमणका रूपमा स्मरण गर्नुभयो। भारत–रुस सम्बन्ध नयाँ उचाइमा पुगिरहेको उल्लेख गर्दै उहाँले दुवै देशले जनताको हितलाई प्राथमिकतामा राखेर सहकार्य गरिरहेको बताउनुभयो।

मोदीले केही दिनमै भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गर्न लागेको जानकारी दिँदै पुटिन र रुसी प्रतिनिधिमण्डललाई भारत भ्रमणका लागि स्वागत गर्न आफूहरू आतुर रहेको बताउनुभयो।

उहाँका अनुसार पुटिनको भ्रमणले भारत–रुस द्विपक्षीय सम्बन्ध थप बलियो बनाउनुका साथै ब्रिक्सभित्र संवाद र सहकार्यलाई समेत मजबुत बनाउनेछ।

भेटमा रुसी राष्ट्रपति पुटिनले पनि भारत–रुस सम्बन्ध निरन्तर बलियो बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो।

रुस–भारतबीच विकसित व्यावसायिक तथा मैत्रीपूर्ण सम्बन्धमा मोदीको विशेष ध्यानले महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पुटिनले त्यसका लागि उहाँप्रति आभार व्यक्त गर्नुभयो।

प्रकाशित मिति: १६ भदौ २०८३, मंगलबार  ०८ : १८  बजे