नेपालको बिपदमा भारतको अभुतपुर्व सहयोग, बरूण चौधरीले भने, ‘संकटमा भारतले गरयो नेपाल-भारतको सबन्धको गहिराई’

काठमाडौं, १५ भदौ । नेपाल विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेका बेला उद्योगपति डा. वरुण चौधरीले भारतबाट प्राप्त तत्काल राहत, उद्धार तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ । सीजी कर्प ग्लोबल तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भिडियो सन्देशमार्फत विपद्को कठिन घडीमा भारतले देखाएको साथले नेपाल–भारतबीचको गहिरो मित्रतालाई फेरि उजागर गरेको बताउनुभएको हो ।

‘कठिन समयमा प्राप्त यस्तो साथले नेपाल र भारतबीच रहेको गहिरो मित्रता एकपटक फेरि उजागर गरेको छ,’ चौधरीले भन्नुभएको छ । विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेका चौधरीले संकटको सुरुवाती चरणमै राहत सामग्री उपलब्ध गराएर नेपालीहरूको हौसला बढाएको भन्दै भारतप्रति आभार व्यक्त गर्नुभएको छ ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष धन्यवादसमेत दिनुभएको छ । ‘यसका लागि म भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु,’ उहाँले भिडियो सन्देशमा भन्नुभएको छ । भदौ १४ सम्म भारतले चारवटा हवाई उडानमार्फत नेपालमा ६८.५ टन राहत तथा प्राविधिक सामग्री पठाएको छ ।

ती सामग्रीमा अत्यावश्यक औषधि, तयारी खाद्य सामग्री, पोर्टेबल जेनेरेटर, पानी शुद्धीकरण ट्याब्लेट, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट, सरसफाइ सामग्री तथा खोज–उद्धार उपकरण समावेश छन् । चौथो उडानबाट मात्रै ११ टन सामग्रीसँगै भारतीय सेनाको १३ सदस्यीय विशेष सुरुङ उद्धार टोली उपकरणसहित नेपाल आएको छ ।

मृतकहरूको पहिचानमा सहयोग गर्न छवटा फोरेन्सिक टोलीमा आबद्ध १९ विशेषज्ञसमेत डीएनए विश्लेषणका लागि परिचालित भएका छन् । बाढीले सडक तथा पुलमा व्यापक क्षति पुर्याएपछि भारतले २३० फिट लामो एकलेन मोड्युलर स्टिल पुल निर्माणका सामग्री बोकेका १६ ट्रक नेपाल पठाएको छ । थप सातवटा बेली पुलका सामग्री तथा जडानका लागि प्राविधिक टोली पठाउने तयारीसमेत गरिएको छ ।

चौधरीले तत्काल उद्धार र राहतपछि नेपालको अर्को ठूलो चुनौती पुनर्निर्माण हुने बताउनुभयो । ‘हाम्रा धेरै पूर्वाधारहरू—हाइड्रोपावर, विद्यालय, पुलहरू र सडकहरू—क्षतिग्रस्त भएका छन् । राहत सामग्रीजस्तै यी पूर्वाधारहरूको पुनर्निर्माणमा पनि हामीले सहयोगको अपेक्षा गरेका छौँ,’ चौधरीले भन्नुभएको छ ।

उहाँको भनाइले तत्काल राहतपछि क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय तथा छिमेकी सहकार्य आवश्यक हुने विषयलाई समेत जोड दिएको छ । विपद्पछिको राहत तथा पुनर्स्थापनामा निजी क्षेत्रबाट पनि उल्लेखनीय पहल सुरु भएको छ ।

चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा तथा नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् । कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई खाना, स्वच्छ खानेपानी, तयारी खाद्य सामग्री, लत्ताकपडा, त्रिपाल तथा व्यक्तिगत सरसफाइ सामग्रीलगायत अत्यावश्यक वस्तु वितरण सुरु गरिएको छ ।

रसुवा र नुवाकोटमा एक–एक राहत शिविर सञ्चालन गरी खाना, स्वच्छ खानेपानी, सरसफाइ सुविधा तथा बालबालिकाका लागि सुरक्षित स्थान उपलब्ध गराउने योजना पनि अघि सारिएको छ । एकातिर भारतले राहत सामग्रीदेखि विशेषज्ञ टोली र पूर्वाधार पुनःस्थापनासम्म सहयोग विस्तार गरिरहेको छ भने अर्कोतर्फ नेपाली निजी क्षेत्र पनि राहत र पुनर्स्थापनामा सक्रिय बनेको छ ।

यही पृष्ठभूमिमा चौधरीले संकटको घडीमा देखिएको आपसी सहयोगले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । ‘विपदमा पाएको यो साथ–सहयोगले हामी दुई राष्ट्रको सम्बन्ध अझ बलियो भएको छ भन्ने विश्वास लिएको छु,’ चौधरीले आफ्नो सन्देशको अन्त्यमा भन्नुभएको छ ।

प्रकाशित मिति: १५ भदौ २०८३, सोमबार  १६ : १८  बजे