१४५ जना बेपत्ता, २०० बढी विस्थापित; गोसाइँकुण्डका बाढीपीडित अझै सरकारी राहतको पर्खाइमा

काठमाडौं, १४ भदौ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का बाढीपीडितहरू अझै सरकारी राहतको प्रतीक्षामा छन्। भदौ १० गते आएको विनाशकारी बाढीबाट ज्यान जोगाउन स्थानीयवासीले घरबार र सरसामान छाडेर भाग्नुपरेको थियो।

बाढीबाट जोगिएका २०० भन्दा बढी स्थानीय अहिले नामग्याल चोकस्थित यल्लो गुम्बामा आश्रय लिएर बसिरहेका छन्। उनीहरूमध्ये धेरैले घरबाट भाग्ने क्रममा लत्ताकपडा र जुत्तासमेत लैजान पाएका थिएनन्।

स्थानीयका अनुसार वडाभित्र मात्रै १४५ जना अझै बेपत्ता छन् भने ६–७ जना उद्धारको पर्खाइमा छन्। उद्धार तथा व्यवस्थापनको काम स्थानीयवासी र नेपाली सेनाको सहयोगमा भइरहेको छ। बाहिरबाट विभिन्न संघसंस्थाले पठाएको राहत सामग्रीले तत्कालको आवश्यकता धानिरहेको भए पनि केन्द्र सरकारबाट पर्याप्त सहयोग नआएको पीडितहरूको गुनासो छ।

यल्लो गुम्बामा अहिले चिया–बिस्कुट, दाल–भात र तरकारीको व्यवस्था गरिएको छ। प्राप्त करिब १५० बोरा खाद्य सामग्रीले बढीमा एक सातासम्म मात्र धान्न सक्ने स्थानीयले बताएका छन्। खाद्यान्नसँगै लत्ताकपडा, जुत्ता–चप्पल र स्वास्थ्य सामग्रीको तत्काल आवश्यकता रहेको छ।

बाढीको सबैभन्दा ठूलो असर बालबालिकामा परेको छ। स्थानीयका अनुसार वडाभित्र ५० देखि ६० जना बालबालिकाले अभिभावक गुमाएका छन्। उनीहरूको हेरचाह अहिले स्थानीय समुदायले गरिरहेको छ। तर, विपद्पछि बालबालिकाको पढाइसमेत प्रभावित हुने अवस्था बनेको छ।

स्थानीय विद्यार्थीले मासिक ४३ हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने र कोठाभाडा मात्रै २० देखि २५ हजार रुपैयाँसम्म पर्ने भएकाले विपद्पछि उनीहरूको शिक्षालाई निरन्तरता दिन कठिन भएको स्थानीयले बताएका छन्। बालबालिकाको पढाइ कसरी अघि बढाउने भन्ने विषयमा स्थानीय तहमा छलफल भइरहेको छ।

स्वास्थ्य सेवाको अवस्था पनि कमजोर रहेको छ। गाउँपालिकाबाट प्रारम्भिक सहयोग भए पनि थप स्वास्थ्यकर्मी आवश्यक परेको स्थानीयको भनाइ छ। पालिकाले स्वास्थ्यकर्मी पठाउने बताए पनि अहिलेसम्म थप जनशक्ति नपुगेको बताइएको छ।

बाढीले वडाको नेतृत्व संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। वडाध्यक्षसहित दुई जना सदस्यको अवस्था अझै अज्ञात छ भने दलित समुदायबाट प्रतिनिधित्व गर्ने चारै जना सदस्यको मृत्यु भएको स्थानीयले बताएका छन्।

तत्कालका लागि खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री र सुरक्षित आश्रयको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ। यल्लो गुम्बामा लामो समयसम्म ठूलो संख्यामा विस्थापितलाई राख्नसमेत कठिन हुने स्थानीयको भनाइ छ।

बाढीको तत्कालीन संकट केही कम भए पनि गोसाइँकुण्ड–२ का बाढीपीडितका लागि अबको चुनौती पुनःस्थापना, आवास, स्वास्थ्य, शिक्षा र बेपत्ताको खोजी बनेको छ। स्थानीयहरू भने सरकारबाट तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाको अपेक्षामा छन्।

प्रकाशित मिति: १४ भदौ २०८३, आइतबार  २१ : ५४  बजे