काठमाडौं, १३ भदौ । काठमाडौं मेडिकल कलेज (केएमसी)ले बाढीपीडित ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ।
बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि जुटाइएको आर्थिक स्रोत गुमेपछि डंगोलको उपचारमा कठिनाइ उत्पन्न भएको थियो। बिरामीको अवस्था र विपद्का कारण उत्पन्न आर्थिक संकटलाई मध्यनजर गर्दै केएमसीले मानवीय सहयोगस्वरूप निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको जनाएको छ।
अस्पतालका अनुसार बिरामी भर्ना भएदेखि सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भई डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण अस्पतालसम्बन्धी खर्च केएमसीले व्यहोर्नेछ।
विपद्को कठिन अवस्थामा बाढीपीडित नागरिकको उपचारमा सहयोग गर्नु आफ्नो सामाजिक तथा मानवीय दायित्व भएको केएमसीले जनाएको छ।
केएमसीले आफू स्वास्थ्य सेवामा समर्पित रहँदै विपद्को समयमा नागरिकको साथमा रहेको पनि जनाएको छ।







प्रतिक्रिया