काठमाडौं, ४ भदौ । । नेपालमा पछिल्लो समय एलपी ग्यासको आपूर्ति बढाइए पनि बजारमा अभावको समस्या भने कायमै रहेको छ।
नेपाल आयल निगमका अनुसार गत साउन महिनामा पछिल्लो पाँच महिनामध्येकै सबैभन्दा बढी ५७ हजार ३ सय १६ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३ सय ६४ थान ग्यास सिलिन्डर बिक्री वितरण गरिएको निगमले जनाएको छ।
निगमका अनुसार गत असारमा ४४ हजार ५ सय ४४ मेट्रिक टन, जेठमा ३२ हजार ८ सय ४२ मेट्रिक टन, वैशाखमा ३२ हजार ५६ मेट्रिक टन र चैतमा ३८ हजार ७ सय ९९ मेट्रिक टन ग्यास आयात भएको थियो।
असारको तुलनामा साउनमा करिब ९ लाख थान बढी ग्यास सिलिन्डर बिक्री भएको निगमका निर्देशक विनितमणि उपाध्यायले जानकारी दिनुभएको छ।
आयात र बिक्री दुवै बढेको तथ्यांक सार्वजनिक भए पनि विभिन्न क्षेत्रमा ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ताले अझै अभाव र लाइनको समस्या झेलिरहेका छन्। सरकारले आपूर्ति व्यवस्थापनमा सुधारका लागि पहल गरिरहेको जनाएको छ।











प्रतिक्रिया