प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रवि लामिछानेले भने– ‘यत्रो सिंगो पार्टी सँगै उभिएको छ’

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्नुभएको ‘एक्लो’ भावनालाई राजनीतिक अर्थमा बुझ्न नहुने बताउनुभएको छ ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले उहाँले प्रयोग गर्नुभएका शब्दको सोझो राजनीतिक अर्थ खोज्न नहुने बताउनुभएको हो ।

प्रधानमन्त्री शाहले केही दिनअघि सामाजिक सञ्जालमा आफू एक्लो महसुस गरिरहेको आशयको स्टाटस लेख्नुभएको थियो । त्यसबारे लामिछानेले प्रधानमन्त्री शाहको बचाउ गर्दै पार्टी उहाँसँगै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँ त एउटा कवि पनि हो, कलाकार पनि हो नि । अहिले यहाँ यत्रो भीडमा पनि मैले एक्लो फिल गर्न सक्दिनँ र ? त्यसैले हामीले खोजेजस्तो हरेक शब्दको अर्थ खोज्न गयो भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन । यत्रो सिंगो पार्टी सँगै उभिएको छ, कहाँ उहाँ एक्लो हुनुहुन्छ ?’

बुधबार आयोजित संसदीय दलको बैठकमा भने संसदीय दलका नेता तथा प्रधानमन्त्री शाह उपस्थित हुनुभएको थिएन । प्रधानमन्त्रीको अनुपस्थितिबारे लामिछानेले आजको बैठक सांसद र सभापतिबीचको छलफलका लागि भएको बताउनुभयो ।

‘आजको बैठक भने सांसदहरू र सभापतिबीचको छलफल हो । दलको बैठकमा दलका नेता आइहाल्नुहुन्छ, त्यसमा दुविधा छैन,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला लामिछानेले प्रधानमन्त्रीको बचाउ गर्नुभएको हो ।

यसैबीच उहाँले सरकारका मन्त्रीहरू फेरबदल हुन लागेको भन्ने चर्चा सत्य नभएको स्पष्ट पार्नुभयो ।

बैठकमा मन्त्री तथा सांसदहरूलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिँदा संयमित हुन निर्देशन दिनुभएका लामिछानेले बाहिर सञ्चारकर्मीसँग भने पार्टीका सांसद तथा मन्त्रीहरूको बचाउ गर्नुभयो ।

धेरै सांसद भएको राजनीतिक दलमा कहिलेकाहीँ कसैको बोली चिप्लिन सक्ने र त्यसबाट विवाद उत्पन्न हुन सक्ने भन्दै उहाँले त्यस्ता विषयलाई पार्टीले सम्हाल्ने बताउनुभयो ।

‘धेरै सांसद भएको राजनीतिक दलभित्र कहिले कसको, कहिले कसको बोली चिप्लिन सक्छ । कहिलेकाहीँ काम गर्दागर्दै यताउता हुन सक्ने पनि होला,’ उहाँले भन्नुभयो, ‘हामी पनि धेरै छौँ । धेरैमध्ये एक–दुई जनाले बोलेको विवादमा पनि पर्न सक्छ, तर त्यसलाई हामीले सम्हालिहाल्छौँ ।’

प्रकाशित मिति: ३ भदौ २०८३, बुधबार  २० : ४८  बजे