रौतहट, ३ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको छ ।
मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा थप प्रहरी टोली परिचालन गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाको गम्भीरताका आधारमा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो ।
अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको पहिचान भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। त्यसपछि उनको खोजी भइरहेको थियो ।
अनुसन्धानका क्रममा जितपुरसिमरा–२ बस्ने भिम सेन थापाका छोरा तथा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने बहानामा फकाईफुल्याई घटनास्थलमा लगेको खुलेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार त्यहाँ बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासँगै म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत पक्राउ गरेको छ ।
घटनाको प्रकृति र पक्राउ परेका व्यक्तिहरूको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।







प्रतिक्रिया