पदमुक्त गरिएका युक्रेनी रक्षा मन्त्रीले भने, ‘तत्काल राष्ट्रपति निर्वाचन गरौं’

किभ, ३ भदौं । युक्रेनका पूर्व रक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकै बीचमा निर्वाचन गराउनु पर्ने माग गर्नुभएको छ । फेब्रुअरी २०२२ मा रुससँग युद्ध सुरु भएयता भोलोडिमिर जेलेन्स्कीको राष्ट्रपतीय कार्यकालका लागि यसलाई धेरैले सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरेका छन् ।

३५ वर्षीय फेडोरोभले मंगलबार युट्युबमा पोस्ट गरिएको भिडियोमा भन्नुभएको छ, ‘लोकतन्त्र रुसको बन्धक बन्न सक्दैन, हामी एक स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहिरहन चाहन्छौं ।’ उहाँका अनुसार सोही उद्देश्य अनुसार संघर्ष गरिरहेको छ ।

रुसको आक्रमणयता युक्रेनमा सैनिक शासन छ, जसको अर्थ निर्वाचनहरू स्थगित गरिएका छन् । भिडियोमा जेलेन्स्कीको नाम नलिएका फेडोरोभलाई रक्षामन्त्रीमा नियुक्त भएको ६ महिना पछि अर्थात् जुलाईको अन्त्यतिर अप्रत्याशित रूपमा पदबाट हटाइएको थियो ।

फेडोरोभको भिडियोमाथि जेलेन्स्कीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । फेडोरोभलाई पदबाट हटाउने निर्णयले देशभर विरोध प्रदर्शनहरू निम्त्याएको थियो । रक्षामन्त्रीको कार्यकालमा फेडोरोभले मन्त्रालयमा नयाँ ऊर्जा भर्ने, भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्व गर्ने तथा रणभूमिको कार्यसम्पादन विश्लेषण र सुधार गर्न तथ्यांकको प्रयोग गर्ने काम गरेको श्रेय पाएका थिए ।

उहाँलाई पदबाट हटाउने निर्णय सेनाका कमान्डर इन चिफ ओलेक्सान्डर सिर्स्कीसँगको तनाबसँग सम्बन्धित रहेको व्यापक रूपमा मानिन्छ । युक्रेनी राष्ट्रपति माथि हप्तौंसम्म चलेको विरोध प्रदर्शनको दबाब बढे पछि केही सातामै सिर्स्कीलाई पनि पदबाट हटाइएको थियो ।

युट्युब भिडियोमा फेडोरोभले आफ्ना राजनीतिक योजनाबारे कुनै संकेत गरेका छैनन् । बरु उहाँले ‘दीर्घकालीन युद्धको अवस्थामा पनि युक्रेनलाई पूर्ण लोकतान्त्रिक प्रक्रिया पुनःस्थापना गर्न सक्षम बनाउने कानुनी, सुरक्षित र यथार्थपरक संयन्त्र’को आवश्यकतामा जोड दिनुभयो ।

प्रकाशित मिति: ३ भदौ २०८३, बुधबार  १२ : १६  बजे