सत्ता पक्षकै सांसद्को टिप्पणी : प्रहरी देखेर मानिसहरू डराउन थाले

काठमाडौँ, २ भदौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुरक्षा निकायबाट नागरिक सुरक्षित हुनुपर्नेमा प्रहरी देखेर मानिसहरू डराउन थालेको अवस्था देखिन थालेको बताउनुभएको छ।

मंगलबार विराटनगरमा आयोजित उद्घोष दैनिकको २२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सांसद झाले उद्योगी तथा व्यवसायीलाई अनाहकमा दुःख दिने काम गलत भएको बताउनुभयो।

विराटनगरमा आधारहीन रूपमा उद्योगीका घरमा छापा मार्ने कार्यले निजी क्षेत्र त्रसित बनेको उहाँको भनाइ थियो।

‘विराटनगरमा अनाहक र आधारहीन तवरबाट उद्योगीको घरमा छापा मार्नु गलत थियो। प्रहरी देखेर सुरक्षित हुनुपर्नेमा मानिसहरू डराउन थालेको अनुभव भएको छ,’ उहाँले भन्नुभयो।

निजी क्षेत्रलाई तर्साएर लगानीको वातावरण बनाउन नसकिने उल्लेख गर्दै झाले उद्योगी तथा व्यवसायीलाई हतोत्साहित बनाउने गतिविधि रोक्नुपर्ने बताउनुभयो।

आफू राजनीतिज्ञसँगै व्यवसायी पनि रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले विराटनगर मुलुकको प्रमुख आर्थिक केन्द्रका रूपमा पछाडि पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। विगतमा काठमाडौँलाई समेत आर्थिक क्षेत्रमा पछि पारेको विराटनगर अहिले अन्य सहरभन्दा पछि पर्दै गएको उहाँको भनाइ थियो।

सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै पाण्डेले सरकारले सबै क्षेत्रमा नियन्त्रण गर्न खोजेको आरोप लगाउनुभयो। सरकारको भूमिका मार्गदर्शक र अनुगमनकर्ताका रूपमा हुनुपर्ने बताउँदै उहाँले निजी क्षेत्रलाई विश्वासमा नलिई मुलुकको आर्थिक विकास सम्भव नहुने धारणा राख्नुभयो।

व्यवसायीमाथि हुने धरपकडले मुलुकमा ‘पुलिस स्टेट’को झल्को देखिन थालेको पाण्डेको टिप्पणी थियो।

राजनीतिक नेतृत्वका विषयमा उहाँले पार्टीको सभापति वा अध्यक्षले एक कार्यकालभन्दा बढी निरन्तरता पाउन नहुने धारणा पनि राख्नुभयो। नेतृत्वमा निरन्तर रहिरहने चाहनाका कारण पार्टी विभाजन र राजनीतिक अस्थिरता बढ्ने उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले करिब दुईतिहाइ समर्थनको सरकारले मुलुकको परिवर्तन, सुरक्षा र समृद्धिका क्षेत्रमा अपेक्षाअनुसार ठोस काम गर्न नसकेको आरोप लगाउनुभयो।

युवापुस्ताबाट सरकार बनेको भनिए पनि युवाहरूको अपेक्षाअनुसार काम हुन नसकेको उहाँको भनाइ थियो। सरकारले युवाका लागि रोजगारी सिर्जना गर्न नसकेको र उद्योगी–व्यवसायीलाई सुरक्षाको आडमा त्रसित बनाउने प्रयास भइरहेको भुसालले आरोप लगाउनुभयो।

प्रकाशित मिति: २ भदौ २०८३, मंगलबार  २१ : ३५  बजे