बाढी–पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट उत्पादन ठप्प

काठमाडौं, २ भदौ । बाढी र पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन् । निर्माणाधीन आयोजनामा निर्माण सामग्री र उपकरण ढुवानी रोकिँदा काम सुस्त भएको छ भने सञ्चालनमा रहेका दुई आयोजनाबाट करिब २० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ ।

सडक अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी हुन नसकेपछि धवलागिरि, अन्नपूर्ण र मालिका गाउँपालिकामा रहेका जलविद्युत् आयोजनाहरू प्रभावित भएका हुन् ।

म्याग्दीमा निर्माणाधीन ५३.५ मेगावाटको अपर म्याग्दी–१, ३७ मेगावाटको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला, ९.१४ मेगावाटको सुपर घलेम्दी र ६.५ मेगावाटको दरखोला जलविद्युत् आयोजनाको निर्माण प्रभावित भएको छ ।

अपर म्याग्दी–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार घुमाउने (फापरखेत), बाङ्गेपहिरो र इल्पुमा पहिरो तथा शिवरात्रि खोलामा आएको बाढीका कारण असारदेखि निर्माण सामग्री र उपकरण ढुवानी हुन सकेको छैन । मौज्दात सामग्री प्रयोग गरेर काम जारी राखिए पनि ढुवानी अवरुद्ध हुँदा निर्माणले अपेक्षित गति लिन नसकेको उहाँले बताउनुभयो ।

म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीका अनुसार पहिरो पन्छाउँदै र डोजरको सहायताले सवारीसाधन तार्दै निर्माणको काम सञ्चालन गर्नुपरेको छ ।

बेनी–दरबाङ र दरबाङ–ताकम सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि निर्माण सामग्री ढुवानीमा समस्या भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताउनुभयो ।

बाढी–पहिरोका कारण निर्माणाधीन आयोजनासँगै सञ्चालनमा रहेका जलविद्युत् आयोजना पनि प्रभावित भएका छन् । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको रेलेखर्कबाट आएको बाढीले बाँध पुरिएपछि ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना असार दोस्रो सातादेखि बन्द छ ।

त्यस्तै साउन २६ गते सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि ठप्प भएको छ । पहिरोमा परी एक जनाको मृत्यु र एक जना घाइते भएका थिए ।

प्रकाशित मिति: २ भदौ २०८३, मंगलबार  ०९ : ००  बजे