भक्तपुरको भाटभटेनी अब चौबिसै घण्टा खुल्ने

काठमाडौं, भदौ २ । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरस्टोर चौबिसै घण्टा सञ्चालनमा आएको छ ।

आम उपभोक्तालाई सपिङका लागि सहज बनाउन आजदेखि राधेराधेस्थित स्टोर चौबिसै घण्टा सञ्चालनमा ल्याइएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताउनुभएको छ ।

उहाँका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा एक–एक वटा स्टोर चौबिसै घण्टा सञ्चालन गर्ने योजना छ । भक्तपुरपछि ललितपुरको पाटनस्थित कृष्णगल्ली र काठमाडौंको टंगालस्थित स्टोर पनि चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी छ । टंगाल स्टोर भदौ २४ गतेदेखि चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरिएको पौडेलले बताउनुभयो ।

चौबिसै घण्टा सञ्चालन हुने स्टोरमा पहिलो तला मात्र खुला रहने र त्यहाँ ग्रोसरीका सामान उपलब्ध हुने भाटभटेनीले जनाएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भाटभटेनीको यो अभ्यासले रात्रिकालीन अर्थतन्त्रलाई टेवा पुग्ने बताउनुभएको छ । उहाँले यो अभ्यास सकारात्मक भएकाले आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

चौबिसै घण्टा स्टोर सञ्चालनमा आएपछि दिनभर काममा व्यस्त हुने उपभोक्तालाई सपिङ गर्न सहज हुने अपेक्षा गरिएको छ ।

भाटभटेनीले उपत्यकाका तीन स्टोरपछि पोखराको एक स्टोर पनि चौबिसै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ ।

हाल भाटभटेनीका देशभर २७ वटा स्टोर सञ्चालनमा छन् । कम्पनीका अनुसार सबै स्टोरमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित मिति: २ भदौ २०८३, मंगलबार  ०८ : ३७  बजे