ओमानमाथि बमबारी गर्ने ट्रम्पको धम्की

काठमाडौं, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा अवरोध गरे ओमानमाथि बमबारी गर्ने धम्की दिनुभएको छ ।

फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले ओमानले वार्तामा अवरोध गरे ‘नराम्रोसँग बमबारी’ गर्ने चेतावनी दिनुभएको हो ।

ट्रम्पको यस्तो अभिव्यक्ति आउनुभन्दा केही घण्टाअघि इरानले ओमानसँग स्ट्रेट अफ होर्मुजबाट पानीजहाज आवतजावत खुलाउने विषयमा समझदारी नजिक पुगेको जनाएको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले जहाज पार गर्ने मार्गको नक्साबारे दुवै पक्षबीच समझदारी बनेको बताउनुभएको छ । संयुक्त वक्तव्य जारी गर्नुअघि बाँकी विवरणलाई अन्तिम रूप दिने तयारी रहेको उहाँको भनाइ छ ।

स्ट्रेट अफ होर्मुजको दक्षिणी किनारमा रहेको ओमानले आफूलाई अमेरिका–इरान द्वन्द्वमा तटस्थ राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ । अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन् ।

अमेरिका–इरान युद्धका कारण करिब छ महिनादेखि स्ट्रेट अफ होर्मुजमा जहाज आवतजावत लगभग बन्द अवस्थामा रहेको बताइएको छ । विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिने यो जलमार्गबाट विश्वको करिब एक-पाँचौं तेल तथा एलएनजी ओसारपसार हुने गर्छ ।

जलमार्ग लामो समय बन्द रहँदा विश्व बजारमा तेलको मूल्य, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा ठूलो असर पर्न सक्ने चिन्ता छ ।

यसअघि अमेरिका र इरानबीच युद्धविराम तथा होर्मुज जलडमरूमध्य आंशिक रूपमा खुलाउने उद्देश्यले १८ जुनमा ६० दिने समझदारी भएको थियो । तर दुवै पक्षबीच पुनः आक्रमण भएपछि समझदारी कार्यान्वयन हुन सकेन ।

यसैबीच, ट्रम्पले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग अमेरिकाको प्रत्यक्ष ‘ब्याकच्यानल’ रहेको दाबीसमेत गर्नुभएको छ । तर आईआरजीसीले भने अमेरिकी अधिकारीसँग कुनै वार्ता नभएको दाबी गर्दै ट्रम्पको भनाइ अस्वीकार गरेको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खोल्न अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने बताउँदै आउनुभएको छ । इरानले जलमार्ग हुँदै जाने जहाजका कार्गोको मूल्यको ५ देखि ७ प्रतिशतसम्म शुल्क लिन खोजिरहेको रोयटर्सले जनाएको छ ।

होर्मुज खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच कूटनीतिक प्रयास भइरहेका बेला ट्रम्पको पछिल्लो धम्कीले मध्यपूर्वको तनाव थप बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति: २ भदौ २०८३, मंगलबार  ०८ : २०  बजे