काठमाडौं, २२ साउन । ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय, सहज तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सेवा सहकार्य सम्झौता भएको छ।
सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसालले हस्ताक्षर गर्नुभएको हो।
सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन आउने गोकर्णेश्वरका स्थायी बासिन्दाले अस्पतालले उपलब्ध गराउने विभिन्न विशेषज्ञ सेवामा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन्।
सम्झौताले आर्थिक रूपमा उपचार गर्न कठिनाइ भोगिरहेका नगरवासीलाई विशेषज्ञ चिकित्सकबाट उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। साथै नियमित स्वास्थ्य परीक्षण, रोगको समयमै पहिचान, प्रारम्भिक उपचार तथा जटिल स्वास्थ्य समस्याको जोखिम न्यूनीकरणमा समेत सहकार्यले योगदान पुर्याउने जनाइएको छ।
सम्झौतापछि ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने बताउनुभएको छ।
उहाँले ह्याम्स अस्पतालको उद्देश्य उपचारमा मात्र सीमित नभई नागरिकलाई गुणस्तरीय, सुरक्षित, सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताउनुभयो।
गोकर्णेश्वरका नगर प्रमुख रिसालले नागरिकको स्वास्थ्य स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै सम्झौताबाट नगरवासीलाई सहुलियत दरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ।
ह्याम्स अस्पतालले मुटु तथा रक्तनली, न्युरो साइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी तथा क्रिटिकल केयरलगायत विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले आगामी दिनमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र समुदायसँगको सहकार्य विस्तार गर्दै नागरिकमैत्री तथा पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ।













प्रतिक्रिया