सामाजिक सञ्जालमा आफैं राखेको तस्बिर प्रकाशित गरेको भन्दै पत्रकारलाई थुन्न नमिल्ने सर्वोच्चको आदेश

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा आफैं सार्वजनिक गरिएको तस्बिर सञ्चारमाध्यमले प्रकाशित गरेको विषयमा पत्रकारलाई थुनामा राख्नु उचित नहुने ठहर गरेको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले पत्रकार किशोर श्रेष्ठलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिनुभएको हो।

जनआस्था साप्ताहिकमा एक सांसद र युवतीको चुम्बनरत तस्बिरसहित समाचार प्रकाशित भएपछि युवतीले वैयक्तिक गोपनीयताको हक उल्लङ्घन भएको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो। सोही जाहेरीका आधारमा सम्पादक श्रेष्ठ पक्राउ पर्नुभएको थियो।

श्रेष्ठका कानुन व्यवसायीले उक्त तस्बिर जाहेरवालाले नै आफ्नो फेसबुकमा सार्वजनिक गरेको प्रमाण अदालतमा पेस गर्नुभएको थियो। अदालतले पनि जाहेरीमा उल्लेखित तस्बिर जाहेरवालाले नै फेसबुकमा पोस्ट गरेको देखिएको र त्यसलाई विपक्षीले खण्डन गर्न नसकेको ठहर गरेको छ।

सर्वोच्चले समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्नुपर्ने अवस्था नदेखिएको जनाएको छ। अदालतले प्रेस स्वतन्त्रता र वैयक्तिक गोपनीयताको अधिकारबीच सन्तुलन आवश्यक रहेको समेत स्पष्ट पारेको छ।

अनुसन्धानका लागि श्रेष्ठलाई निरन्तर हिरासतमा राख्नुपर्ने ठोस आधार नदेखिएको भन्दै सर्वोच्चले थुनाबाहिरै राखेर अनुसन्धान गर्न सकिने व्यवस्था अपनाउन आदेश दिएको हो।

यद्यपि, श्रेष्ठलाई पक्राउ गर्दा जिल्ला अदालतबाट अनुमति लिइएको देखिएकाले पक्राउ प्रक्रिया नै गैरकानुनी भएको निष्कर्ष भने सर्वोच्चले निकालेको छैन।

प्रकाशित मिति: १ भदौ २०८३, सोमबार  २० : ३१  बजे