चक्रपथको किनारमा
एक खबरबेत्ता बन्दी बनाएर
सिंहदरबार चैनको निद्रामा परिरहेछ !
बागीहरूका
मुखमा भोटेताल्चा ठोकेर
निद्रामा परेकाहरू
बागी खबरसँग
काँप्दै थुन्छन् कलमहरूलाई !
चक्रपथको छेउमा
एक कालो कोठरीभित्र
खोजखबरको एक निडर किशोरलाई
बाँधेर, मुखमा पट्टी लगाएर
ठमेलतिर मध्यरातमा
भोज खाइरहेछ सत्ता !
तर—
सत्यका स्वरहरू
फलामका बारहरूसँग
नझुक्छन्,
न तिनका आवाजहरू सुक्छन् ।
ती त झन्
भरभराउँदो आगो बन्छन्,
अँध्यारोलाई चिर्दै
झन् खारिँदै जान्छन्—
र अन्ततः
स्पात पो बन्छन् !
किनकि
कलमलाई कैद गर्न सकिएला,
तर प्रश्नलाई सकिँदैन ।
स्वरलाई थुन्न सकिएला,
तर सत्यलाई सकिँदैन ।
चक्रपथको त्यो कालो कोठरीबाट
एक दिन
उज्यालो निस्कनेछ—
र सिंहदरबारका निदाएका झ्यालहरूमा
सत्यले ढकढक्याउनेछ ।











प्रतिक्रिया