काठमाडौं, ३० साउन । पूर्व प्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौं मेडिकल कलेज (केएमसी) तथा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबीच पूर्व प्रहरी कर्मचारी, उनीहरूका आश्रित परिवार तथा द्वन्द्वपीडितका लागि उपचारमा छुट र विशेष सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौताअनुसार द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका पूर्व प्रहरीका परिवारले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्ना भएर उपचार गराउँदा अन्तरंग विभागका सबै सेवामा शतप्रतिशत छुट पाउनेछन्। परिषद्को सिफारिसमा यस्तो सुविधा एक सय जना सदस्यका परिवारलाई उपलब्ध गराइनेछ।

यो सुविधा द्वन्द्वकालमा अंगभंग भएका वा मृत्यु भएका सदस्यका आमा, बुबा, श्रीमान् वा श्रीमती तथा नाबालक दुई छोराछोरीलाई उपलब्ध हुनेछ।
त्यस्तै, परिषद्मा आबद्ध अन्य पूर्व प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारले दुवाकोटस्थित केएमसीमा उपचार गराउँदा अन्तरंग सेवामा ५० प्रतिशत, सिनामंगलस्थित केएमसीमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २० प्रतिशत छुट पाउनेछन्।
पाँच जनालाई निःशुल्क मिर्गौला प्रत्यारोपण
सम्झौताअनुसार पाँच जनासम्म द्वन्द्वपीडितलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराइनेछ।
आकस्मिक उपचारका लागि अस्पताल पुग्ने परिषद्मा आबद्ध बिरामीलाई २४ घण्टासम्म क्रेडिटमा उपचार सेवा उपलब्ध गराइनेछ। त्यसका लागि परिषद्को सिफारिसपत्र २४ घण्टाभित्र अस्पतालमा पेस गर्नुपर्नेछ।
सम्झौताअनुसार आईभीएफ, सीटीभीएस, कलेजो प्रत्यारोपण, क्याबिन बसाइ, प्लास्टिक तथा कस्मेटिक सर्जरीमा छुट उपलब्ध हुने छैन। इम्प्लान्ट, सर्जिकल सामग्री, चिकित्सासम्बन्धी सामग्री तथा औषधिमा पनि छुट लागू हुने छैन।
सरकारबाट स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कोषलगायत सुविधा उपलब्ध हुने अवस्थामा ती सुविधा उपयोग गरेपछि मात्र सम्झौताअनुसारको सहुलियत लिन सकिने व्यवस्था गरिएको छ।
सम्झौता साउन २९ देखि आगामी असार मसान्तसम्म एक आर्थिक वर्षका लागि लागू हुनेछ। सम्झौतामा पूर्व प्रहरी कर्मचारी परिषद् नेपालका अध्यक्ष रमेशकुमार श्रेष्ठ र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले हस्ताक्षर गर्नुभएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केएमसी र नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा बोल्दै शर्माले द्वन्द्वपीडितका नाममा आएको सहयोग वास्तविक पीडित प्रहरीले नपाएको अवस्था रहेको उल्लेख गर्दै उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सके उपचारसम्बन्धी धेरै समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो।
द्वन्द्वपीडितका लागि आर्थिक अभाव उपचारको बाधक नबनोस् भन्ने उद्देश्यले विशेष सुविधा ल्याइएको उल्लेख गर्दै शर्माले पैसा अभावकै कारण उपचार नपाएर द्वन्द्वपीडितले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।












प्रतिक्रिया