होटल व्यवसायी महासंघले आयल निगमको ग्याससम्बन्धी सूचनाप्रति आपत्ति

रुपन्देही २९ साउन ।होटल व्यवसायी महासंघ नेपालले नेपाल आयल निगमले होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा ग्यास सिलिन्डरको मौज्दातसम्बन्धी जारी गरेको सूचनाप्रति आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष टिआर भण्डारी (शंकर)ले शुक्रबार विज्ञप्ति जारी गर्दै होटल तथा आतिथ्य व्यवसायलाई आशंकाको दृष्टिले नभई राज्यको आर्थिक साझेदारका रूपमा व्यवहार गर्न माग गरेका छन् ।

आयल निगमले बिहीबार जारी गरेको सूचनामा बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको भन्दै त्यस्तो मौज्दात नराख्न आग्रह गरेको थियो । साथै, मौज्दात रहेको ग्यास सिलिन्डर सम्बन्धित डिपोमार्फत सर्वसाधारणलाई बिक्री–वितरण गर्न निगमले अपिल गरेको थियो ।

महासंघले भने व्यवसायको प्रकृति, आकार र दैनिक खपतको वास्तविकता नबुझी व्यावसायिक प्रयोजनका लागि राखिएको ग्यास मौज्दातलाई अनावश्यक सञ्चिति वा कालोबजारीसँग जोडेर हेर्नु स्वीकार्य नहुने जनाएको छ ।

महासंघ कालोबजारी, कृत्रिम अभाव वा गैरकानुनी गतिविधिको पक्षमा नरहेको स्पष्ट पार्दै अध्यक्ष भण्डारीले कानूनविपरीत कार्य गर्ने जो–कोहीमाथि प्रमाणका आधारमा प्रचलित कानूनअनुसार कारबाही हुनुपर्ने बताएका छन् ।

महासंघका महासचिव राजेश महोत्राले व्यवसायीको हकहित, सम्मान र व्यवसायको अस्तित्व संरक्षणका लागि आवश्यक परे शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

महासंघले केही व्यवसायी वा घटनालाई आधार बनाएर समग्र होटल तथा आतिथ्य क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने, व्यवसायीलाई आतंकित बनाउने वा व्यवसायको प्रतिष्ठामा आँच पुग्ने वातावरण सिर्जना गर्ने कार्यप्रति कडा असहमति जनाएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  २१ : ५६  बजे