काठमाडौं, २७ साउन । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गणपूरक संख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथिको छलफल अघि बढ्न सकेन। बैठकमा आवश्यक संख्यामा सांसद उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक एक साताका लागि स्थगित गर्नुपरेको हो।
खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न उठाउँदै सांसद संख्या गणना गर्न माग गर्नुभएको थियो।
त्यसपछि तीन मिनेटसम्म घण्टी बजाउँदा पनि आवश्यक संख्या नपुगेपछि सभामुख अर्यालले बैठक स्थगित गर्नुभयो। सभामुखका अनुसार बैठक सञ्चालनका लागि ६९ जना सांसद आवश्यक पर्नेमा ६१ जना मात्रै उपस्थित थिए।
गणपूरक संख्या पुगेको भए विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने ७२ घण्टे प्रक्रिया सुरु हुने थियो। तर सांसदको अनुपस्थितिका कारण अब उक्त विधेयकमाथिको कार्यसूची एक सातापछि मात्रै अघि बढ्ने भएको छ।
नाम बोलाउँदा पनि सांसद अनुपस्थित
प्रतिनिधिसभा बैठकमा सांसदहरू हाजिर गरेर बाहिरिने तथा बोल्ने समय आएपछि सभाकक्षमा उपस्थित नहुने प्रवृत्ति पनि दोहोरिँदै आएको छ।
मंगलबारको बैठकमा उपसभामुख रुवी ठाकुरले सांसद रिना उप्रेतीलाई बोल्न समय दिनुभएको थियो। तर उहाँ सभाकक्षमा उपस्थित हुनुहुन्नथ्यो। उहाँको नाम तीनपटक बोलाएपछि उपसभामुखले अर्का सांसद अरविन्द साहको नाम लिनुभयो।
अरविन्द साह पनि सभाकक्षमा उपस्थित नभएपछि उहाँको नामसमेत तीनपटक बोलाएर अर्का सांसदलाई बोल्न समय दिइएको थियो। लगातार सांसदहरूको नाम बोलाउँदा उनीहरू सभाकक्षमा नभेटिएपछि बैठकमा रहेका सांसदहरू हाँसेका थिए।
सांसदहरू बैठकमा हाजिर गर्ने तर केही समयपछि बाहिरिने प्रवृत्तिलाई व्यङ्ग्य गर्दै ‘हाटा’ भन्ने गरिएको छ। संसद्मा विधेयकमाथि बोल्न नाम टिपाउने तर आफ्नो पालो आउँदा सभाकक्षमा उपस्थित नहुने समस्या पनि देखिँदै आएको छ।
रास्वपाले हाजिरी विश्लेषण गर्दै
सांसदहरूको कमजोर उपस्थितिलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदको हाजिरी विश्लेषण गर्न थालेको छ।
बैठकमा सुरुमा उपस्थित भए पनि बीचमै बाहिरिने क्रम बढेको र यसले संसद्को गरिमा कमजोर पार्ने देखिएकाले हाजिरी विश्लेषण गर्न लागिएको रास्वपा संसदीय दलको कार्यालयले जनाएको छ।
संसद् सचिवालयबाट सांसदहरूको हाजिरी विवरण झिकाएर विश्लेषण गरी प्रतिवेदन तयार गर्न संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ।
यसअघि पनि प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरू नाम बोलाउँदा अनुपस्थित हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन्। २२ असारको बैठकमा समेत विधेयकमाथि बोल्न नाम टिपाएका केही सांसद आफ्नो पालो आउँदा सभाकक्षमा उपस्थित थिएनन्।
संसदीय समितिमा पनि उस्तै समस्या
सांसदको अनुपस्थितिको समस्या प्रतिनिधिसभाको बैठकमा मात्रै सीमित छैन। संसदीय समितिका बैठकमा समेत सांसदहरू हाजिर गरेर बाहिरिने प्रवृत्ति देखिने गरेको छ।
२९ वैशाखमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा २४ जना सांसद उपस्थित रहेको हाजिरी देखिए पनि बैठकको अन्त्यमा सभापतिले सम्बोधन गर्दा ११ जना सांसद मात्रै बाँकी रहेका थिए।
सांसदहरूले नै संसद्को कार्यशैली र उपस्थितिमाथि प्रश्न उठाउँदै आएका छन्। रास्वपाका सांसद विपिन आचार्यले संसदीय अभ्यास कर्मकाण्डी बन्दै गएको भन्दै संसद्लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन संसदीय सुधार समिति गठन गर्नुपर्ने मागसमेत राख्नुभएको थियो।
सांसदहरूको उपस्थिति, विधेयकमाथि प्रस्तुत संशोधन, संसदीय समितिको काम तथा संसद्मा उठाइएका विषयको सम्बोधनलगायतका आधारमा संसद्को नियमित समीक्षा आवश्यक रहेको सांसद आचार्यको धारणा छ।
गणपूरक संख्या नपुगेर बैठक नै स्थगित हुने र सांसदहरू हाजिर गरेर बाहिरिने प्रवृत्तिले भने संसद्को कार्यसम्पादन र जनप्रतिनिधिको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।











प्रतिक्रिया