भृकुटीमण्डपमा आकर्षक गाडीहरूको प्रदर्शनी

काठमाडौं, २६ साउन । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।

एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादन प्रदर्शनमा राखिएका छन्। प्रदर्शनीमा विद्युतीय सवारीसाधनको बाहुल्यता देखिएको छ। यहाँ १८ लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मका विद्युतीय गाडी प्रदर्शनमा राखिएका छन्।

एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी उत्पादनहरू राखिएका छन्।

विभिन्न कम्पनीले आफ्ना नयाँ मोडलका कार, मोटरसाइकल तथा स्कुटरसमेत सार्वजनिक गरेका छन्। आयोजकका अनुसार एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहेको छ।

एक्स्पोमा दुईपाङ्ग्रे सवारीतर्फ १८ र चारपाङ्ग्रेतर्फ २९ नयाँ ब्रान्ड सार्वजनिक गरिँदै छन्। प्रदर्शनीमा ५२ वटा स्टल राखिएका छन्।

नयाँ सवारीसाधनबारे जानकारी लिन अवलोकनकर्ताहरू विभिन्न स्टलमा पुगेका छन्। सहभागी कम्पनीहरूले आफ्ना उत्पादनबारे जानकारी दिनुका साथै विभिन्न छुटसहित सवारीसाधन बुकिङको व्यवस्था गरेका छन्।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार  २१ : ३०  बजे