काठमाडौं, २४ साउन । ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा एकै परिवारका तीन महिलासहित चार जनाको मृत्यु भएको छ।
शनिबार तिजुका राष्ट्रिय निकुञ्जमाथि पर्यटकीय उडानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा हेलिकप्टरका पाइलटसहित तीन जना कोलम्बियाली महिलाको मृत्यु भएको कोलम्बियाली महावाणिज्यदूतले जानकारी दिनुभएको छ। मृत्यु हुने तीनै महिला एउटै परिवारका सदस्य रहेको बताइएको छ।
उनीहरू एक बालिकाको १५औँ जन्मदिन मनाउन रियो दि जेनेरियो पुगेका थिए। दुर्घटनामा बालिकाकी हजुरआमा, काकी र भतिजीको मृत्यु भएको जनाइएको छ।
हेलिकप्टर तिजुका राष्ट्रिय निकुञ्जको बाक्लो जंगल र पहाडी क्षेत्रमाथि पर्यटकीय भ्रमणका क्रममा दुर्घटनामा परेको हो। दुर्घटना भिस्टा चिनेजा नजिक भएको बताइएको छ।
घटनापछि रियो दि जेनेरियोका मेयर एडुआर्डो काभालिएरीले पर्यटकीय हेलिकप्टर उडानको सुरक्षा निगरानी थप कडा बनाउनुपर्ने बताउनुभएको छ। नयाँ सुरक्षा उपाय लागू गर्ने क्रममा यस्ता उडान केही समयका लागि स्थगित गर्न सकिने उहाँले बताउनुभएको छ।
तिजुका राष्ट्रिय निकुञ्ज रियो दि जेनेरियोको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। यहाँबाट क्राइस्ट द रिडिमरको प्रतिमासहित सहर र समुद्री किनारको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
रियोमा पर्यटकीय हेलिकप्टर उडानको सुरक्षा विषयमा पछिल्लो समय चिन्ता बढ्दै गएको छ। यसअघि जुन १४ मा रियोको पश्चिमी क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किँदा छ जनाको मृत्यु भएको थियो।







प्रतिक्रिया