मेस्सीलाई पितृशोक, बुबा जर्ज मेस्सीको ६८ वर्षमा निधन

ब्युनर्स आयर्स । आठपटकका बालोन डी’ओर विजेता लियोनल मेस्सीका बुबा जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ।

मेस्सीको बाल्यकालको क्लब न्यूवेल्स ओल्ड ब्वाइजले शनिबार जर्जको निधन पुष्टि गरेको हो। अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार शुक्रबार रोसारियोस्थित अस्पतालमा उनको निधन भएको हो।

जर्ज मेस्सी छोराको बाल्यकालका प्रशिक्षक तथा पछि एजेन्टसमेत थिए। सन् २००० मा उनले अर्जेन्टिनाको जागिर र परिवार छाडेर १३ वर्षीय लियोनलसँगै स्पेन गएका थिए।

मेस्सीको फुटबल यात्रामा जर्जको महत्वपूर्ण भूमिका रहेको भन्दै न्यूवेल्स ओल्ड ब्वाइजले उनको निधनप्रति दुःख व्यक्त गरेको छ। स्पेनिस फुटबल संघले पनि मेस्सी परिवारप्रति समवेदना व्यक्त गरेको छ।

निजी स्वभावका जर्जले विरलै सञ्चारमाध्यममा अन्तर्वार्ता दिने गरे पनि छोरा लियोनलसँगको गहिरो सम्बन्धबारे बोल्दा भावुक हुने गर्थे।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार  ०८ : ४४  बजे