हर्मुज जलसन्धि खोल्न इरानका ६ सर्त, नाकाबन्दी हटाउन अमेरिकामाथि दबाब

काठमाडौं, २४ साउन । इरानले रणनीतिक महत्त्वको हर्मुज जलसन्धि पुनः खोल्न अमेरिकासमक्ष ६ बुँदे सर्त अघि सारेको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले हर्मुज खोल्नुअघि अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको छ ।

इरानले आफ्ना मुख्य सर्तका रूपमा इरान तथा उसका क्षेत्रीय सहयोगीविरुद्धका सैन्य कारबाही स्थायी रूपमा रोक्नुपर्ने, नाकाबन्दीमा संलग्न अमेरिकी नौसैनिक तथा हवाई सेना फिर्ता गर्नुपर्ने र इरानविरुद्धका धम्की अन्त्य गर्नुपर्ने माग गरेको छ ।

त्यसैगरी युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने, इरानमाथिका अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने र रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने सर्त पनि अघि सारिएको छ ।

यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले इरानको आणविक तथा सैन्य क्षमता ध्वस्त पारेको दाबी गर्दै दबाब कायमै राख्ने बताउनुभएको छ । मध्यपूर्वबाट तेल तथा ग्यासको आपूर्ति सुनिश्चित गर्नु अमेरिकाको प्रमुख लक्ष्य रहेको उहाँको भनाइ छ ।

युद्धको तनाव बढिरहेका बेला साउदी अरब, टर्की र पाकिस्तानले मक्कामा ‘संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर गरेका छन् । टर्कीका विदेशमन्त्री हकान फिदानले सम्झौता रक्षात्मक प्रकृतिको रहेको र भविष्यमा इजिप्ट पनि सहभागी हुन सक्ने बताउनुभएको छ ।

हर्मुज जलसन्धि बन्द रहे पनि केही ट्याङ्करले गोप्य रूपमा तेल ओसारपसार गरिरहेको दाबी गरिएको छ । अमेरिकी रक्षा मन्त्रालयले भने हतियार अभावसम्बन्धी रिपोर्ट अस्वीकार गर्दै आफ्नो सुरक्षा भण्डार पर्याप्त रहेको जनाएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार  ०८ : २६  बजे