काठमाडौँ, २३ साउन । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्न सरकारले अनुगमन तीव्र बनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार काठमाडौँका ग्यास उद्योग तथा डिपोको अनुगमन गरी आपूर्ति अवस्थाबारे जानकारी लिएकी छन् ।
मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ तथा बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिएकी हुन् । त्यसपछि उनी नेपाल आयल निगमको टेकुस्थित कार्यालय परिसरमा रहेको ग्यास डिपोमा समेत पुगेकी थिइन् ।
अनुगमनका क्रममा मन्त्री यादवले विद्यार्थी, मजदुर तथा अप्ठ्यारोमा परेका नागरिकलाई प्राथमिकतामा राखेर ग्यास बिक्री वितरण गर्न निर्देशन दिएकी छन् ।
ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा साउन १६ गतेदेखि नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यास बिक्री वितरण गर्दै आएका छन् ।
उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरी ग्यासको बिक्री वितरण सहज बनाउने प्रयास गरिरहेको जनाएको छ ।
निगमका अनुसार काठमाडौँ उपत्यकामा मात्रै दैनिक करिब ४० हजार सिलिन्डर ग्यास बिक्री भइरहेको छ । निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको र आगामी दिनमा आयातको परिमाण बढाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।







प्रतिक्रिया