बारा, २२ साउन । बारामा बिजुलीको पोलमा हुक लगाउने क्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान करिब १०ः४० बजे उनी बत्ती बाल्नका लागि पोलमा हुक लगाइरहेका बेला एउटा हुकको तार विद्युत् लाइनमा अल्झिएको थियो ।
त्यसक्रममा अर्को तार उनको शरीरमा खस्दा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते कोईरीलाई उनका भाइ चन्देश्वर महतो कोईरीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्याएका थिए ।
घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट असई पुजई महराको नेतृत्वमा प्रहरी टोली बिहान ११ः१० बजे घटनास्थलमा पुगेको थियो ।
प्रहरीका अनुसार अस्पतालमा उपचारका क्रममा दिउँसो १२ः०५ बजे चिकित्सकले ईसीजी परीक्षणपछि कोईरीलाई मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।







प्रतिक्रिया