वाशिंगटन, २२ साउन । संयुक्त राज्य अमेरिकामा ‘क्यान्डिडा ओरिस’ को बढ्दो संक्रमणले चिकित्सा विज्ञहरूमा चिन्ता बढाएको छ । ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले जनाए अनुसार यस वर्ष हालसम्म अमेरिकाका २७ राज्यहरूमा खतरनाक ‘फंगस’ का प्रकारहरू फेला परेका छन् ।
औषधि प्रति प्रतिरोध क्षमता तथा प्रभावकारी खोप वा उपचारको अभावले गम्भीर चिन्ताको विषय बनाएको छ । क्यान्डिडा ओरिस एक प्रकारको ‘यिस्ट’ हो, जसले गम्भीर बिमारी निम्त्याउन सक्छ । यो स्वास्थ्य सेवा केन्द्रहरूमा रहेका गम्भीर बिरामीहरू माझ सजिलै फैलिन सक्छ ।
विश्व स्वास्थ्य संगठनले यसलाई ‘अत्यधिक प्राथमिकता प्राप्त फंगल प्याथोजन’ अर्थात अत्यन्त खतरनाक ढुसीको रूपमा वर्गीकृत गरेको छ । यसले विभिन्न प्रकारका संक्रमणहरू गराउन सक्छ । ‘शरीरका सेता रक्तकोशिकाले बाहिरी रोगजनक जीवहरूलाई मार्न ‘रियाक्टिभ नाइट्रोजन स्पिसिज’उत्पादन गर्छन् तर यो ‘सुपरबग’ ढुसीले तिनको उत्पादनलाई रोक्छ ।
यसले छालाको संक्रमण तथा ज्यान जोखिममा पार्ने खालका संक्रमणहरू, जस्तै रगतको संक्रमण, निम्त्याउन सक्छ’ विश्व स्वास्थ्य संगठनले भनेको छ । अमेरिकाको राष्ट्रिय जनस्वास्थ्य निकायले जुलाई २५ सम्म ३ हजार ४३७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । गत वर्ष यो संख्या ४ हजार २९० थियो ।
सबैभन्दा बढी संक्रमणका घटना क्यालिफोर्नियामा ८ सय ७३ देखिएका छन् भने त्यसपछि टेक्सास ४ सय ३३ र टेनेसीमा २ सय ८३ रहेका छन् । सीडीसीका अनुसार ‘कन्डिडिया ओरिस’ को संक्रमण दर वार्षिक रूपमा बढिरहेको छ, यद्यपि सन् २०२२ यता यसको वृद्धिदर भने सुस्त भएको थियो ।
कोरियाली अनुसन्धानकर्ताहरूले सन् १९९६ मा पहिलो पटक यसको पत्ता लगाएका थिए । यो एक सर्ने रोग हो, जुन संक्रमित व्यक्तिसँगको प्रत्यक्ष सम्पर्क वा दूषित सतहहरूमार्फत अप्रत्यक्ष रूपमा फैलिन सक्छ । यसका साथै, यो ढुसी (फंगस) सतह र वस्तुहरूमा लामो समयसम्म रहिरहन सक्छ र बिरामीहरूमा सर्न सक्छ ।
‘क्यान्डिडा ओरिस’ सँग सम्बन्धित मृत्युदर ३० प्रतिशत देखि ६० प्रतिशतको बीचमा रहेको अनुमान गरिएको छ । सीडीसीका अनुसार संक्रमित बिरामीहरू मध्ये अधिकांश पहिले नै अन्य रोगबाट ग्रसित थिए । त्यसैले, पहिलेदेखि नै रहेका स्वास्थ्य समस्याहरूको तुलनामा यस फंगसले मृत्युमा कति भूमिका खेल्यो भनि यकिन गर्न कठिन छ । फलस्वरूप, यस रोगका धेरै पक्षहरू अझै स्पष्ट हुन बाँकी छन् ।







प्रतिक्रिया