ट्रम्पको चेतावनी– ‘हतियार अभावको सूचना चुहाउने जेल जान्छन्’

वासिङ्टन, २२ साउन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हतियार तथा गोला–बारुदको अभाव रहेको भन्ने समाचारलाई अस्वीकार गर्दै त्यस्ता सूचना चुहाउनेहरूलाई कडा कारबाही गरिने चेतावनी दिनुभएको छ।

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत राष्ट्रपति ट्रम्पले अमेरिकासँग विशेष प्रकारका हतियारसहित पर्याप्त गोला–बारुद मौज्दात रहेको र रक्षा उद्योगले ठूलो परिमाणमा उत्पादन गरिरहेको दाबी गर्नुभएको हो।

यसअघि अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्ट र सीएनएनले लामो दूरीका मिसाइल तथा हवाई प्रतिरक्षा प्रणालीका मिसाइलको अभावका कारण ट्रम्प प्रशासनको रणनीतिमा असर परेको समाचार प्रकाशित गरेका थिए। केही रिपोर्टमा इरानविरुद्धका सम्भावित सैन्य कारबाहीसमेत प्रभावित भएको उल्लेख गरिएको थियो।

ती समाचारप्रति प्रतिक्रिया दिँदै ट्रम्पले सूचना चुहाउनेहरूको पहिचान भइसकेको दाबी गर्दै उनीहरूले लामो जेल सजाय भोग्नुपर्ने चेतावनी दिनुभएको छ।

यद्यपि, ह्वाइट हाउस र पेन्टागनले हतियार अभाव तथा राष्ट्रपति ट्रम्प र रक्षा मन्त्री पिट हेगसेथबीच मतभेद रहेको दाबीलाई अस्वीकार गर्दै ती समाचारलाई भ्रामक भएको बताएका छन्।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार  ०९ : २१  बजे