वासिङ्टन, २२ साउन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने तथा ‘बर्थ टुरिजम’ रोक्ने उद्देश्यले दुईवटा नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ।
नयाँ आदेशअनुसार अमेरिकामा जन्मिएका केही शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था विस्तार गरिएको छ। साथै, बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासलाई पनि प्रतिबन्ध लगाइएको छ।
ह्वाइट हाउसमा आदेश सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी आप्रवासन प्रणालीको दुरुपयोग रोक्न यस्तो निर्णय गरिएको बताउनुभयो। उहाँले जन्मसिद्ध नागरिकतासम्बन्धी आफ्नो अघिल्लो आदेश सर्वोच्च अदालतले रोकेको निर्णयप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
पहिलो कार्यकारी आदेशअनुसार दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा, यदि उनीहरूमध्ये एक जना विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारका कर्मचारी, जालसाजीमार्फत अमेरिकी नागरिकता लिन प्रयास गरेका व्यक्ति वा संघीय कानुनअनुसार स्वतः नागरिकता नपाउने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्ति भएमा त्यस्ता शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्।
ट्रम्प प्रशासनले विशेषगरी रुस र चीनका केही नागरिकले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग गरिरहेको दाबी गर्दै आएको छ। राष्ट्रपति ट्रम्पले ‘बर्थ टुरिजम’मार्फत सयौँ हजार बालबालिका अमेरिकामा जन्मिएको दाबी गर्नुभएको छ। तर गैरदलीय अनुसन्धान संस्था माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार यस्तो संख्या वार्षिक करिब २२ हजारदेखि २६ हजारको बीचमा रहने अनुमान गरिएको छ।
यसअघि ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेलगत्तै जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो। तर अमेरिकी सर्वोच्च अदालतले गत जुनमा उक्त आदेश कार्यान्वयनमा रोक लगाउँदै जन्मसिद्ध नागरिकताको व्यवस्था यथावत् रहने फैसला गरेको थियो।
उता, अमेरिकी कानुनविद् गेब्रियल चिनले नयाँ आदेशका केही प्रावधान कानुनी रूपमा टिक्न सक्ने भए पनि केही व्यवस्थाले गम्भीर संवैधानिक प्रश्न उठाउने बताउनुभएको छ। उहाँका अनुसार बच्चा जन्माउनकै उद्देश्यले अमेरिका आउने व्यक्तिमाथि केही सीमा लगाउन सकिए पनि अमेरिकामा जन्मिइसकेपछि शिशुलाई नागरिकता नदिने अधिकार राष्ट्रपतिसँग नहुने तर्क गर्नुभएको छ।







प्रतिक्रिया