काठमाडौं, साउन २१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल राजीनामा नदिने अडान लिएपछि उहाँकै नेतृत्वमा प्रदेश सरकारलाई निरन्तरता दिने सहमति भएको छ।
मुख्यमन्त्री कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि तत्काल पद नछाड्ने अडान राख्नुभएको थियो। त्यसपछि पार्टीबाट अर्को निर्णय नआएसम्म उहाँकै नेतृत्वमा प्रदेश सरकार सञ्चालन गर्ने सहमति भएको बताइएको छ।
प्रदेश सरकारको नेतृत्वबारे बुधबार पार्टी अध्यक्ष ओलीको निवासमा मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारीबीच छलफल भएको थियो।
छलफलपछि एमाले कोशी प्रदेश अध्यक्ष खतिवडाले तत्कालका लागि मुख्यमन्त्री कार्कीकै नेतृत्वमा सरकार सञ्चालन हुने जानकारी दिनुभयो। उहाँले उपयुक्त समय आएपछि नेतृत्व परिवर्तन हुन सक्ने संकेत पनि गर्नुभयो।
छलफलका क्रममा अध्यक्ष ओलीले आवश्यक ठानेर नेतृत्व परिवर्तनको निर्देशन दिएमा मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्त राख्नुभएको स्रोतहरूले बताएका छन्।
यससँगै तत्कालका लागि कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने भएको छ। आगामी दिनमा पार्टी नेतृत्वबाट आउने निर्णयका आधारमा मुख्यमन्त्री कार्कीले नेतृत्व हस्तान्तरण गर्न सक्ने एमाले नेताहरूले बताएका छन्।







प्रतिक्रिया