दुई वर्षपछि सार्वजनिक भइन् शेख हसिना, डिसेम्बरमा स्वदेश फर्किने घोषणा

काठमाडौं, २१ साउन । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले करिब दुई वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गर्दै यही वर्षको डिसेम्बरमा स्वदेश फर्किने घोषणा गर्नुभएको छ।

सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनपछि भारतमा निर्वासित जीवन बिताइरहनुभएकी हसिनाले बुधबार साँझ भर्चुअल पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले नयाँ दिल्लीबाट आयोजना गरेको उक्त पत्रकार सम्मेलन अडिओ माध्यमबाट सञ्चालन गरिएको थियो।

पत्रकार सम्मेलनमा उहाँले आफ्नो स्वदेश फिर्तीको योजना, आवामी लिगको भविष्य, बंगलादेशको वर्तमान राजनीतिक अवस्था तथा सन् २०२४ को विद्यार्थी आन्दोलनबारे धारणा राख्नुभयो।

डिसेम्बरमा बंगलादेश फर्किने आफ्नो योजना दोहोर्‍याउँदै हसिनाले सही समय र मितिबारे पछि जानकारी गराइने बताउनुभयो। “म आफ्ना जनतामाझ डिसेम्बरमा फर्किनेछु,” उहाँले भन्नुभयो।

आफूमाथि मनगढन्ते र झुटा मुद्दा लगाउने प्रयास हुन सक्ने दाबी गर्दै हसिनाले त्यसबाट आफू नडराउने बताउनुभयो। जनताप्रतिको आफ्नो दायित्व कुनै पनि परिस्थितिभन्दा माथि रहेको उहाँको भनाइ थियो।

बंगलादेशले पछिल्ला दुई वर्षमा ठूलो तनाव र पीडा भोगेको उल्लेख गर्दै उहाँले वर्तमान अवस्थालाई आफूहरूले निर्माण गरेको बंगलादेशसँग तुलना गर्न नसकिने टिप्पणी गर्नुभयो। सन् १९७१ को स्वतन्त्रता संग्राममा लाखौँ नागरिकले दिएको बलिदानको भावनाअनुसार अहिलेको अवस्था नरहेको उहाँले बताउनुभयो।

सन् २०२४ को विद्यार्थी आन्दोलनबारे बोल्दै हसिनाले उक्त आन्दोलन शान्तिपूर्ण नभएको दाबी गर्नुभयो। उहाँका अनुसार सुरुदेखि नै सरकारले वार्ता, कानुनी प्रक्रिया र धैर्यतामार्फत समस्या समाधान गर्ने प्रयास गरेको थियो। आन्दोलनलाई केही संगठित समूहले हिंसात्मक राजनीतिक अभियानमा रूपान्तरण गरेको आरोप पनि उहाँले लगाउनुभयो।

आफ्ना अभिव्यक्ति व्यक्तिगत नभई बंगलादेशको भविष्यप्रतिको जिम्मेवारीका आधारमा राखिरहेको उल्लेख गर्दै हसिनाले निर्वासनमा रहे पनि आफू कहिल्यै जनताबाट टाढा नभएको बताउनुभयो।

प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार  ०९ : १०  बजे