काठमाडौं, १९ साउन । तीव्र गतिमा काम गरिरहेको दाबी गर्ने सरकार नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियामै अल्झिएको छ। अध्यक्ष नियुक्तिका लागि समिति गठन भएको तीन महिना र आवेदन संकलन भएको दुई महिना बितिसक्दा पनि प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन।
बीमा प्राधिकरणको अध्यक्ष छनोटका लागि गत वैशाख ८ गते सिफारिस समिति गठन गरिएको थियो। समितिले जेठ १३ गते अध्यक्ष पदका लागि आवेदन आह्वान गर्दै जेठ १९ गतेसम्म आवेदन दिन समय दिएको थियो। तर आवेदन संकलन भएको दुई महिना बितिसक्दा पनि नियुक्ति प्रक्रिया कहाँ पुगेको भन्नेबारे कुनै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले अध्यक्ष पदका लागि धेरै आवेदन परेकाले छनोट प्रक्रियामा समय लागेको बताउनुभएको छ। उहाँका अनुसार प्रक्रिया जारी रहे पनि नियुक्ति कहिलेसम्म टुंगिने भन्ने निश्चित छैन।
बीमा ऐन, २०७९ अनुसार अध्यक्ष पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्ति गरिसक्नुपर्ने व्यवस्था छ। तर सरकारले उक्त कानुनी व्यवस्था कार्यान्वयन गर्न नसक्दा प्राधिकरण लामो समयदेखि नेतृत्वविहीन अवस्थामा सञ्चालन भइरहेको छ।
तत्कालीन अध्यक्ष शरद ओझा २०८२ भदौमा पदमुक्त भएपछि हालसम्म स्थायी अध्यक्ष नियुक्त हुन सकेको छैन। त्यसयता विभिन्न सहसचिवलाई कार्यवाहक जिम्मेवारी दिँदै प्राधिकरण सञ्चालन हुँदै आएको छ। हाल अर्थ मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको छ।
बीमा क्षेत्रका जानकारहरूले नेतृत्व अभावका कारण नियमन, नीतिगत निर्णय तथा सुधारका काम प्रभावित भएको बताएका छन्। विशेषगरी स्वास्थ्य बीमा व्यवस्थापन, बीमा कम्पनीहरूको प्रभावकारी नियमन तथा क्षेत्र सुधारका महत्त्वपूर्ण निर्णयहरूमा ढिलाइ भइरहेको उनीहरूको भनाइ छ।
एक वर्षको अवधिमा तीनवटा सरकार परिवर्तन भए पनि बीमा प्राधिकरणले स्थायी नेतृत्व पाउन नसकेको भन्दै सरोकारवालाले सरकारले नियुक्ति प्रक्रिया शीघ्र टुंग्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।







प्रतिक्रिया