काठमाडौं, १९ साउन । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदा उपभोक्ताले खाली सिलिन्डर बुझाएर पनि सातादेखि १० दिनसम्म पालो कुर्नुपर्ने अवस्था आएको छ। मागअनुसार आपूर्ति हुन नसक्दा घरपरिवारदेखि होटल व्यवसायसम्म प्रभावित भएका छन् भने कतिपय उपभोक्ता दाउरा बाल्न बाध्य बनेका छन्।
काठमाडौंसहित सल्यान, लमजुङ, मनाङ, गोरखालगायत जिल्लामा ग्यास अभाव तीव्र देखिएको छ। उपभोक्ताले डिलरलाई खाली सिलिन्डर र पैसा बुझाएपछि पनि लामो समयसम्म भरिएको सिलिन्डर नपाएको गुनासो गरेका छन्।
सल्यानमा ग्यास अभावका कारण कतिपयले जाजरकोटबाट सानो सिलिन्डर महँगो मूल्यमा खरिद गर्नुपरेको छ भने लमजुङ र मनाङमा मागअनुसार आपूर्ति हुन नसक्दा डिलरमा लाइन लाग्ने गरेको छ। गोरखामा पनि ग्यास नपाएर उपभोक्ता विभिन्न पसल धाउन बाध्य भएका छन्।
व्यवसायीहरूका अनुसार कम्पनीबाट आउने ग्यासको आपूर्ति घट्दा समस्या बढेको हो। सामान्य अवस्थामा सातामा दुईदेखि चार ट्रकसम्म ग्यास आउने क्षेत्रमा अहिले एक ट्रक मात्रै ग्यास पुग्ने गरेको छ। ढुवानी व्यवस्थापन र मागभन्दा कम आपूर्तिले अभाव चर्किएको व्यवसायीहरूको भनाइ छ।
नेपाल आयल निगमले भने बजारमा ग्यासको अभाव नभई उपभोक्ताले आवश्यकता भन्दा बढी मौज्दात गर्दा कृत्रिम अभाव देखिएको जनाएको छ। निगमले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चिति नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
निगमका अनुसार भारतबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेको छ। तर आधा सिलिन्डरको व्यवस्था हटाएर पुनः १४.२ केजीको पूर्ण सिलिन्डर प्रणालीमा फर्किँदा आपूर्ति व्यवस्थापनमा केही समय लाग्ने अवस्था देखिएको छ।
ग्यास अभावका कारण वर्षायाममा भिजेको दाउरा बाल्न बाध्य भएका उपभोक्ताले धुवाँका कारण स्वास्थ्य समस्या बढेको गुनासो गरेका छन्। उपभोक्ताले नियमित र सहज आपूर्तिको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।







प्रतिक्रिया