काठमाडौं, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीहरू लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन् भन्ने विषयमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्नुभएको छ।
मंगलबार सिंहदरबारमा आयोजित छलफलमा उहाँले अर्थतन्त्रको वर्तमान मनोविज्ञान, निजी क्षेत्रको लगानी प्रवृत्ति तथा कर्जा प्रवाहमा देखिएको सुस्तताबारे बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको धारणा माग्नुभयो।
अर्थमन्त्री वाग्लेले ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून रहे पनि कर्जाको माग किन बढ्न नसकेको, बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन नसकेको तथा यसको समाधान मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वासमध्ये कुन पक्षमा रहेको भन्ने विषयमा प्रश्न उठाउनुभयो।
उहाँले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, मौद्रिक नीति, नियमन तथा सुपरिवेक्षणमा अपनाउनुपर्ने नयाँ दृष्टिकोण र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उपायबारे पनि सुझाव माग्नुभयो।
अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गर्दै अब सरकारको मुख्य ध्यान प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभयो। उहाँले सरकारले समयसीमा र जिम्मेवारीसहित समाधानमुखी ढङ्गले काम गर्न चाहेको स्पष्ट पार्नुभयो।
उहाँले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमनमा मात्र सीमित नभई आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्वका लागि साझा जिम्मेवारीको सम्बन्ध भएको बताउनुभयो।







प्रतिक्रिया