काठमाडौं, १६ साउन । महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरिएको छ।
देवश्री फिल्म्जले शुक्रबार साँझ आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको गीतले श्रीमतीहरूले आफ्ना श्रीमान्प्रति व्यक्त गर्ने गुनासा र दाम्पत्य जीवनका रमाइला पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
‘टुप्पीको रौं जत्ति नि ठान्दैन, अब के गरौँ ? दिक्क लाइसक्यो, मलाई दिक्क लाइसक्यो, हाँसौँ कि रोऊँ म दिक्क लाइसक्यो…’ बोलको गीतले धेरै विवाहित महिलाहरूको साझा अनुभूतिलाई समेट्ने प्रयास गरेको छ।
चलचित्र ‘भूठान’ का निर्माता समेत रहनुभएका अवीरल थापाले गीतको शब्द सिर्जना गर्नुभएको हो भने संगीतकार किरण भुसालले संगीत भर्नुभएको छ।
गीतमा गायिका दीपिका बयम्बुको स्वर रहेको छ। उहाँलाई गायिकाद्वय बेनिसा पौडेल र सुनिता बिकले साथ दिनुभएको छ।
गीतको म्युजिक भिडियो निर्देशक वर्षा पौडेलले निर्देशन गर्नुभएको हो। भिडियोमा रोहिया महर्जनको कोरियोग्राफी रहेको छ।
तीज पर्व नजिकिँदै गर्दा सार्वजनिक भएको यो गीतले तीजको सांगीतिक माहोललाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया