काठमाडौं, १६ साउन । मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनको स्वायत्त क्षेत्र स्युटा प्रवेश गर्ने क्रममा भएको भागदौड र दुर्घटनामा कम्तीमा ५७ जना आप्रवासीको मृत्यु भएको छ।
स्पेनी अधिकारीहरूका अनुसार एकै हप्तामा करिब ६० हजारभन्दा बढी आप्रवासीले जल तथा स्थलमार्ग हुँदै स्युटा प्रवेश गर्ने प्रयास गरेका थिए। शुक्रबार साँझसम्म अधिकांश आप्रवासी पुनः मोरक्कोतर्फ फर्किएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार बिहीबार हजारौँ मानिस एकैपटक सीमा पार गर्ने प्रयास गर्दा अवस्था नियन्त्रणबाहिर गएको थियो। समुद्र तरेर तथा स्थलमार्ग हुँदै सीमा पार गर्ने क्रममा धेरै आप्रवासी डुबेर मृत्यु भएको जनाइएको छ।
करिब ८४ हजार जनसंख्या रहेको स्युटामा एकाएक ठूलो संख्यामा आप्रवासी पुगेपछि अवस्था तनावग्रस्त बनेको छ। त्यसपछि स्पेन सरकारले सीमामा सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाएको छ।
स्पेनको आन्तरिक मन्त्रालयले गैरकानुनी रूपमा प्रवेश गर्नेहरूलाई द्रुत प्रक्रियामार्फत फिर्ता पठाउने प्रयास भइरहेको जनाएको छ। तर, स्पेनको सर्वोच्च अदालतले हालै समुद्री मार्गबाट आउने आप्रवासीलाई तत्काल मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको छ।
सीमा पार गर्ने प्रयास गर्नेहरूमा अधिकांश युवा र किशोर रहेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले घटनालाई ‘स्पेनको क्षेत्रीय अखण्डतामाथिको चुनौती’ भएको टिप्पणी गर्दै मानव तस्करहरूले फैलाएका अफवाहका कारण ठूलो संख्यामा मानिस सीमा पार गर्न आएको बताएका छन्।
घटनापछि युरोपभर आप्रवासन र सीमा सुरक्षाबारे नयाँ बहस सुरु भएको छ। इटालीले स्पेनबाट हुने हवाई तथा समुद्री यात्रामाथि ३० दिनका लागि अस्थायी सीमा नियन्त्रण लागू गर्ने घोषणा गरेको छ भने फ्रान्सले पनि स्पेनसँग जोडिएका आफ्ना सीमा क्षेत्रमा सुरक्षा जाँच र निगरानी बढाएको छ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेनले नियमविपरीत युरोपेली सङ्घमा प्रवेश गर्न नदिइने स्पष्ट पारेकी छन्।
अमेरिकी विदेश मन्त्रालय तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि स्पेनको आप्रवासन नीतिको आलोचना गर्दै यसलाई सुरक्षा चुनौतीका रूपमा व्याख्या गरेका छन्। स्पेनका विपक्षी दलहरूले समेत प्रधानमन्त्री साञ्चेजको आप्रवासन नीति असफल भएको आरोप लगाएका छन्।
स्युटा र मेलिला उत्तर अफ्रिकामा रहेका स्पेनका दुई स्वायत्त क्षेत्र हुन्, जसलाई मोरक्कोले आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।







प्रतिक्रिया