काठमाडौं, १६ साउन । ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नारासहित आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह सुरु भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहकार्यमा प्रत्येक वर्ष अगस्टको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ।
यस वर्षको अभियानले स्तनपान प्रवर्द्धनका प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीतिमार्फत आवश्यक सहयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
डब्ल्युएचओका अनुसार विश्वका धेरै मुलुकमा अझै पनि आमा र परिवारले स्तनपानलाई सहज बनाउने आवश्यक स्वास्थ्य सेवा, परामर्श तथा सहयोग पर्याप्त रूपमा प्राप्त गर्न सकेका छैनन्। यद्यपि, स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल, सुरक्षित र प्रभावकारी उपायमध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण उपलब्ध गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, विभिन्न गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने जनाएको छ।
डब्ल्युएचओका अनुसार स्तनपानले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर, ‘टाइप–२’ मधुमेहलगायत नसर्ने रोगको जोखिम कम गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ।
विश्वव्यापी रूपमा स्तनपानको दरमा सुधार हुँदै गएको डब्ल्युएचओ र युनिसेफले जनाएका छन्। सन् २०१२ मा जन्मदेखि छ महिनासम्म पूर्ण स्तनपान गराइने शिशुको दर करिब ३७ प्रतिशत रहेकामा हाल ४७ प्रतिशतभन्दा माथि पुगेको छ। त्यसैगरी, दुई वर्षसम्म स्तनपान गराइने बालबालिकाको अनुपात पछिल्ला पाँच वर्षमा ३८ प्रतिशतबाट ५० प्रतिशत पुगेको छ।
यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्युएचओ र युनिसेफको निष्कर्ष छ।
यद्यपि, धेरै मुलुकमा स्तनपानसम्बन्धी सेवाको पहुँच अझै असमान रहेको, सम्बन्धित नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको तथा विशेषगरी न्यून आय भएका, द्वन्द्व प्रभावित र मानवीय संकट झेलिरहेका क्षेत्रमा सेवाको गुणस्तर कमजोर रहेको जनाइएको छ।
डब्ल्युएचओ र युनिसेफका अनुसार स्वास्थ्य संस्थामार्फत दक्ष स्तनपान परामर्श, समुदायमा आधारित परामर्श सेवा, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने व्यावसायिक दूधको अनियन्त्रित प्रवर्द्धनमाथि प्रभावकारी नियन्त्रण स्तनपान प्रवर्द्धनका सबैभन्दा प्रभावकारी र लागत–उपयुक्त उपाय हुन्।
यस्ता कार्यक्रम प्रभावकारी रूपमा विस्तार गर्न सके प्रत्येक वर्ष करिब चार लाख बालबालिका र एक लाख ४० हजार आमाको ज्यान जोगाउन सकिने डब्ल्युएचओको अनुमान छ। साथै, स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक एक अमेरिकी डलर बराबरको लगानीबाट स्वास्थ्य उपचार खर्चमा कमी, बालबालिकाको बौद्धिक विकास, शैक्षिक उपलब्धि तथा भविष्यको आम्दानीमा सुधारमार्फत करिब ५९ अमेरिकी डलर बराबरको आर्थिक प्रतिफल प्राप्त हुने आकलन गरिएको छ।
यस वर्षको सप्ताहका अवसरमा डब्ल्युएचओ र युनिसेफले मातृ तथा नवजात शिशुका लागि गुणस्तरीय स्तनपान सेवा विस्तार गर्न, समुदायमा आधारित परामर्श कार्यक्रम सुदृढ बनाउन, आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनसम्बन्धी अन्तर्राष्ट्रिय आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न, सशुल्क प्रसूति बिदा तथा स्तनपानमैत्री कार्यस्थल सुनिश्चित गर्न र गर्भावस्था, प्रसूति तथा प्रसूतिपछिका स्वास्थ्य सेवासँग स्तनपान प्रवर्द्धनलाई एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन्।
डब्ल्युएचओले सन् २०१८ मा विश्व स्वास्थ्यसभाले विश्व स्तनपान सप्ताहलाई स्वास्थ्य प्रवर्द्धनको महत्वपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको स्मरण गराउँदै प्रत्येक बालबालिकाले जीवनको उत्कृष्ट सुरुआत पाउने र प्रत्येक आमाले आवश्यक सहयोग तथा सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय तथा परिवारको साझा प्रतिबद्धता आवश्यक रहेको जनाएको छ।







प्रतिक्रिया