काठमाडौं, १५ साउन । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्ट टेलिकम घोटाला प्रकरणमा अनुसन्धानका लागि उनलाई बिहीबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराका अनुसार स्मार्ट सेल प्रकरणमा संलग्न देखिएपछि भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
सीआईबीका अनुसार स्मार्ट टेलिकमको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नवीकरण नभएपछि स्वतः रद्द भएको थियो । त्यसपछि कम्पनीका दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा सम्पत्ति नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको नाममा आउनुपर्ने कानुनी व्यवस्था रहेको थियो ।
तर, ती सम्पत्ति नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनसेल आजियाटाको मिलेमतोमा गैरकानुनी रूपमा लिलाम गरिएको र एनसेलले प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीको दाबी छ ।
ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर भण्डारीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया