इरानको दाबी : जोर्डनमा तीन अमेरिकी एफ–३५ ध्वस्त पार्‍यौँ

काठमाडौं, १५ साउन । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले जोर्डनको अल–अजराक हवाई अड्डामा मिसाइल आक्रमण गरी तीन अमेरिकी एफ–३५ लडाकु विमान ध्वस्त पारेको दाबी गरेको छ ।

आईआरजीसीका अनुसार आक्रमणमा थप तीन एफ–३५ मा गम्भीर क्षति पुगेको तथा केही अमेरिकी अधिकारी र प्राविधिक कर्मचारीसमेत मारिएका छन् । उक्त आक्रमण अमेरिकी हवाई हमलाको जवाफी कारबाही भएको इरानको दाबी छ ।

तर अमेरिकी सेनाले इरानको दाबी अस्वीकार गरेको छ । अमेरिकी सेन्ट्रल कमान्डले जोर्डनस्थित आधारमा प्रहार गरिएका मिसाइल तथा ड्रोन रोकिएको र एफ–३५ विमान ध्वस्त भएको दाबी सत्य नभएको जनाएको छ । यसअघि पनि इरानले अल–अजराक आधारलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको थियो भने जोर्डनले अधिकांश मिसाइल अवरोध गरिएको र क्षति नभएको जनाएको थियो । हालसम्म तीन एफ–३५ ध्वस्त भएको इरानको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार  ०७ : ३९  बजे