घाँटीको बिरामीको पाठेघर निकाल्ने चिकित्सक सिभिल अस्पतालको कार्यकारी निर्देशक नियुक्त

काठमाडौं, १३ साउन । नेपाल मेडिकल काउन्सिलबाट यसअघि लाइसेन्स निलम्बनको कारबाही भोगिसकेका डा. जितेन्द्र परियारलाई सरकारले सिभिल अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको छ।

सरकारले साउन ४ गते उहाँलाई अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको हो। यसअघि २०६८ सालमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा घाँटीको शल्यक्रिया गर्नुपर्ने बिरामीको गल्तीवश पाठेघर र दुवै डिम्बग्रन्थि निकालिएको घटनामा चिकित्सकीय लापरबाही पुष्टि भएपछि नेपाल मेडिकल काउन्सिलले उहाँको लाइसेन्स ६ महिनाका लागि निलम्बन गरेको थियो।

घटनामा थाइराइड क्यान्सर भएकी छमकुमारी बोहोरा र पाठेघरको क्यान्सर भएकी केशमाया गुरुङको फाइल तथा बिरामी साटिँदा गलत शल्यक्रिया भएको अस्पतालको छानबिन प्रतिवेदनले उल्लेख गरेको थियो। त्यसबेला डा. परियारले छानबिन समितिसमक्ष सम्पूर्ण चिकित्सकीय टोली व्यावसायिक रूपमा जिम्मेवार हुन नसकेको स्वीकार गर्नुभएको थियो।

यस घटनाबाहेक पनि उहाँविरुद्ध चिकित्सकीय लापरबाही र आर्थिक अनियमिततासम्बन्धी अन्य उजुरीहरू अनुसन्धानकै चरणमा रहेको जनाइएको छ।

यस्ता विवादका बाबजुद सरकारले अस्पतालको प्रमुख कार्यकारी जिम्मेवारीमा नियुक्ति गरेपछि निर्णयको औचित्यमाथि प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  १५ : ३६  बजे