रौतहट, १३ साउन । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नामलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद फेरि चर्किएको छ । गएराति गाउँ प्रवेशद्वारमा राखिएका ‘पेटभर्वा’ लेखिएका स्वागत बोर्डमा तोडफोड भएपछि स्थानीयस्तरमा पुनः तनाव उत्पन्न भएको हो ।
स्थानीयका अनुसार तीन वटा स्वागत बोर्ड उखेलेर फालिएको छ भने थप दुई वटा बोर्डमा कालोमोसो दलिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही गर्न उनीहरूले प्रशासनसँग माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर रादेश खत्रीले एउटा बोर्डमा तोडफोड र अर्कोमा अज्ञात व्यक्तिले कालोमोसो दलेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । स्थानीयहरूको भनाइमा ‘पेटभर्वा’ नाम पुस्तौँदेखि सरकारी अभिलेख, नक्सा तथा प्रशासनिक कागजातमा कायम रहँदै आएको हो ।
तर केही वर्षयता कानुनी प्रक्रिया र सर्वपक्षीय सहमतिबिनै ‘यदुवंशीनगर’ नाम प्रयोग गर्न थालिएपछि विवाद सुरु भएको उनीहरूको दाबी छ । २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनपछि वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ उल्लेख हुन थालेपछि गाउँ दुई धारमा विभाजित भएको स्थानीयहरूको आरोप छ ।
विरोधपछि केही समय ‘पेटभर्वा’ नाम प्रयोग गरिए पनि २०७९ को निर्वाचनपछि पुनः ‘यदुवंशीनगर’ नै प्रयोग हुन थालेको उनीहरूको भनाइ छ । विवाद समाधानका लागि स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय रौतहट, गृह मन्त्रालयदेखि सर्वोच्च अदालतसम्म गुहार मागेका छन् ।
जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुनअनुसार आधिकारिक नाम, छाप र लेटरप्याड मात्रै प्रयोग गर्न वडा कार्यालयलाई निर्देशन दिँदै दुई पटक तीन दिनभित्र लिखित स्पष्टीकरणसमेत मागेको थियो । तर प्रशासनको निर्देशन पूर्ण रूपमा कार्यान्वयन नभएको स्थानीयहरूको आरोप छ ।
यसैबीच, गाउँको नाम तथा वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ प्रयोग गरिएको विषयमा दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यद्यपि विषयको संवेदनशीलतालाई दृष्टिगत गर्दै अदालतले अग्राधिकारका साथ शीघ्र सुनुवाइ गरी अन्तिम निर्णय गर्न आदेश दिएको छ ।
अदालतले यो विवाद जातीय, भाषिक, सांस्कृतिक तथा सामाजिक सद्भावसँग जोडिएको विषय भएकाले ढिलाइ नगरी टुंगो लगाउनुपर्ने उल्लेख गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले यसअघि सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय तथा कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन् ।
यता वर्तमान वडा अध्यक्ष राम एकवाल यादव र पूर्व वडा अध्यक्ष हिरालाल यादवले भने नगर कार्यपालिका बैठकबाट गाउँको नाम परिवर्तन गर्ने निर्णय भइसकेकाले वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ प्रयोग गरिएको बताउँदै आएका छन् ।
लामो समयदेखि जारी नाम विवादबीच स्वागत बोर्डमा गरिएको तोडफोड र कालोमोसो दल्ने घटनाले गाउँमा सामाजिक ध्रुवीकरण थप बढ्न सक्ने चिन्ता स्थानीयहरूले व्यक्त गरेका छन् । उनीहरूले कानुनी प्रक्रियाबाट विवादको स्थायी समाधान खोज्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
अब सर्वोच्च अदालतबाट आउने अन्तिम निर्णयले वर्षौंदेखि कायम गाउँको नाम विवादको निकास दिने अपेक्षा स्थानीयवासीले गरेका छन् ।







प्रतिक्रिया