आज पनि अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द : बिरामीलाई सास्ती

काठमाडौं, १३ साउन । नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ ।

नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको ९ गते भएको आक्रमण अनि अस्पतालमा तोडफोडको विषयलाई लिएर सङ्घले यसअघि हिजो पनि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । सङ्घले दोषीलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाएको छ ।

आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान १० बजे काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी छ । त्यस्तै, काठमाण्डौ उपत्यकाबाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध जनाउने सङ्घको हिजो बसेको बैठकले निर्णय गरेको छ । देशभर ओपीडी सेवा बन्द हुँदा हजारौँ बिरामीलाई थप सास्ती भएको छ । उपचार सेवा प्रभावित भएको छ ।

पर्साको वीरगन्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगन्ज महानगरपालिका–२५ का ५४ वर्षीय राजकुमार पटेलको साउन ८ मा ज्यान गएको थियो । गम्भीर हृदयाघात भएर अस्पताल पुर्‍याएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद राममाथि आक्रमण तथा अस्पतालमा तोडफोड गरेको सङ्घले जनाएको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गरेको छ । मन्त्रालयले डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८३, बुधबार  ०८ : ४५  बजे