प्रधानमन्त्री–अर्थमन्त्री विवाद थप सतहमा, ऊर्जामन्त्रीलाई पनि जोड्दै स्वर्णिमको टिप्पणी

काठमाडौं, १२ साउन । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच केही समययता देखिँदै आएको मतभेद थप सार्वजनिक भएको छ। अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालयसँगै ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारको संख्याबारे टिप्पणी गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित राजस्व चुहावट तथा पुँजीबजार नियन्त्रणसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको उल्लेख गर्नुभयो। आफूले भने एकजना मात्रै अवैतनिक राजस्व सल्लाहकार राखेको बताउँदै राजस्व व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको दाबी गर्नुभयो।

अर्थमन्त्रीको अभिव्यक्तिपछि प्रधानमन्त्रीको सचिवालयले भने उक्त दाबी अस्वीकार गरेको छ। सचिवालयका अनुसार हाल प्रधानमन्त्री शाहले तीन जना मात्रै सल्लाहकार नियुक्त गर्नुभएको छ, जसमध्ये दुई जना अवैतनिक र एक जना मात्रै वैतनिक छन्।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि अर्थमन्त्रीको भनाइमा सत्यता नरहेको जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म एक जना मात्रै विज्ञ नियुक्त गरिएको छ।

प्रधानमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणको समयदेखि नै सम्बन्ध चिसिएको चर्चा हुँदै आएको छ। पछिल्ला दिनमा प्रधानमन्त्रीले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्रीको अनुपस्थिति तथा अर्थ मन्त्रालयले छुट्टै कार्यक्रम आयोजना गरेको विषयलाई पनि दुई नेताबीचको दूरीसँग जोडेर हेरिएको छ।

यद्यपि सरकार वा सम्बन्धित मन्त्रालयहरूले प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुनै औपचारिक विवाद रहेको स्वीकार गरेका छैनन्। राजनीतिक वृत्तमा भने पछिल्ला सार्वजनिक अभिव्यक्तिले सरकारभित्रको समन्वयबारे थप प्रश्न उठाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार  २१ : ४८  बजे