एमाले–नेकपा सहमतिपछि सुदूरपश्चिममा सरकार गठनको कसरत

काठमाडौं, १० साउन । केन्द्रमा नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यको सहमति भएपछि सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य तीव्र भएको छ। दुवै दलको गठबन्धनलाई प्रदेशसभामा स्पष्ट बहुमत रहेकाले सरकार गठनको प्रक्रिया अगाडि बढाइएको हो।

केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने भएको छ। सोहीअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्ट मन्त्रिपरिषद् गठन र मन्त्रालय बाँडफाँडको विषयमा छलफलका लागि काठमाडौं पुग्नुभएको छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २६ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेकपाका २१ (एक जना निलम्बित बाहेक) र एमालेका ११ गरी गठबन्धनसँग ३२ सांसदको समर्थन रहेकाले सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत पुगेको छ। प्रदेशसभामा नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद रहेका छन्।

नेकपा संसदीय दलका नेता भट्टले मन्त्रालयको भागबण्डा, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी नियुक्ति तथा बजेटसम्बन्धी विषयमा शीर्ष नेतृत्वसँग छलफल भइरहेको जानकारी दिनुभएको छ। उहाँले सोमबार धनगढी फर्किएपछि सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढाइने बताउनुभएको छ।

यसअघि एमाले–नेकपा सत्ता सहकार्यको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको थियो। बाँकी प्रदेशमा भने अन्य दलहरूसँगको सहकार्यका आधारमा सरकार गठन गरिने सहमति छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  १६ : १३  बजे