इरान–युक्रेन तनाव चुलियो, ड्रोन आक्रमणपछि तेहरानको जवाफी चेतावनी

काठमाडौं, १० साउन । क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको दाबी गर्दै इरानले युक्रेनलाई कडा चेतावनी दिएको छ। घटनापछि तेहरानले युक्रेनका कूटनीतिक प्रतिनिधिलाई बोलाएर विरोध जनाउँदै आवश्यक जवाफी कदम चाल्ने जनाएको हो।

इरानका अनुसार आक्रमणमा एक नाभिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। इरानी विदेश मन्त्रालयले घटनालाई आफ्नो राष्ट्रिय सुरक्षा र हितमाथिको आक्रमणको संज्ञा दिँदै आवश्यक प्रतिकार गरिने स्पष्ट पारेको छ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यास्पियन सागरमा इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानीमा प्रयोग हुने जहाजहरूलाई निशाना बनाइएको दाबी गरेका छन्। तर, इरानको व्यापारिक जहाजमाथि प्रत्यक्ष आक्रमण गरिएको भने पुष्टि गरेका छैनन्।

रुस–युक्रेन युद्ध जारी रहेका बेला इरान र युक्रेनबीच पनि तनाव बढ्दै गएको हो। युक्रेनले इरानले रुसलाई ‘शाहेद’ ड्रोन उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएको छ। त्यसको प्रतिउत्तरमा जेलेन्स्कीले रुसले इरानलाई मध्यपूर्वमा हुने आक्रमणका लागि उपग्रहबाट प्राप्त गुप्तचर सूचना उपलब्ध गराइरहेको आरोप समेत लगाएका छन्।

दुवै पक्षले एकअर्कामाथि गम्भीर आरोप लगाइरहेका बेला पछिल्लो घटनाले क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  १५ : ४९  बजे