स्पेन–फ्रान्समा डढेलोको कहर, २ लाख ५० हजारभन्दा बढी विस्थापित

काठमाडौं, १० साउन । स्पेन र फ्रान्समा फैलिएको भीषण डढेलोका कारण दुई लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। लगातार फैलिरहेको आगोले जनजीवन अस्तव्यस्त बनाएको छ भने हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्पेनको भ्यालेन्सिया क्षेत्रमा डढेलोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ। आगो नियन्त्रणका लागि चौबीसै घण्टा प्रयास भइरहे पनि अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

फ्रान्सका प्रधानमन्त्रीले आगामी केही घण्टा अत्यन्त चुनौतीपूर्ण हुन सक्ने चेतावनी दिँदै मौसम र आगोको अवस्था निरन्तर परिवर्तन भइरहेकाले जोखिम उच्च रहेको बताउनुभएको छ। मध्य स्पेनमा उद्धार तथा अग्निनियन्त्रण टोलीले हालको अवस्था “अभूतपूर्व” रहेको जनाएको छ।

डढेलोबाट निस्किएको बाक्लो धुवाँका कारण आवतजावत प्रभावित भएको छ भने फ्रान्सको प्रतिष्ठित टुर डे फ्रान्स साइकल प्रतियोगितासमेत प्रभावित भएको छ।

डढेलोको असर स्पेन र फ्रान्समा मात्र सीमित नरही इटाली, बेलायतलगायत युरोपका अन्य मुलुकहरूमा पनि फैलिएको छ। विज्ञहरूले जलवायु परिवर्तनका कारण बढ्दो गर्मीको लहरले यस्ता डढेलोलाई अझ तीव्र र विनाशकारी बनाइरहेको चेतावनी दिएका छन्।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  ११ : ३८  बजे