ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं, ९ साउन । रुसले युक्रेनमा गरेको पछिल्लो मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। मृतकमध्ये १० जनाको ज्यान किभ नजिकै आयोजित ड्रोन प्रविधि प्रदर्शनीमा भएको ब्यालिस्टिक मिसाइल आक्रमणमा गएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार आक्रमणका बेला प्रदर्शनीमा रक्षा क्षेत्रका उच्च अधिकारी तथा प्रविधि विज्ञहरू सहभागी थिए। पूर्वी शहर स्लोभियान्स्कमा रुसले गरेको अर्को ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ।

युक्रेनी वायुसेनाले आक्रमणमा तीनवटा ब्यालिस्टिक मिसाइल प्रयोग भएको जनाएको छ। तीमध्ये एउटा मिसाइल मात्रै खसाल्न सफल भएको वायुसेनाका प्रवक्ता युरी इहनातले बताएका छन्।

रुसको रक्षा मन्त्रालयले आक्रमणको पुष्टि गर्दै उक्त स्थानमा सैन्य प्रयोजनका लागि प्रयोग हुने ड्रोन प्रदर्शनी भइरहेको दाबी गरेको छ। मन्त्रालयले उच्च–सटीकतायुक्त लामो दूरीका हतियार प्रयोग गरेर आक्रमण गरिएको जनाएको छ।

घटनापछि प्रदर्शनी आयोजना गर्ने निर्णय र सुरक्षा व्यवस्थाबारे युक्रेनभित्रै प्रश्न उठेको छ। राष्ट्रपति जेलेन्स्कीले घटनाको अनुसन्धान भइरहेको बताएका छन् भने महान्यायाधिवक्ताको कार्यालयले कार्यक्रम आयोजना र सुरक्षा तयारीबारे छानबिन सुरु गरेको जनाएको छ।

यसअघि युक्रेनले पनि रुसको किरोभ क्षेत्रस्थित सैन्य उद्योगसँग सम्बन्धित कारखाना तथा वाइल्डबेरीज कम्पनीका गोदामहरूमा ड्रोन आक्रमण गरेको थियो। रुसका अनुसार उक्त आक्रमणमा ६ जनाको मृत्यु र २६ जना घाइते भएका छन्।

युद्ध चर्किरहेका बेला राष्ट्रपति जेलेन्स्की आगामी साता अमेरिका भ्रमणमा जाने तयारीमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता हुने अपेक्षा गरिएको छ। उता, रोमानियाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको एउटा रुसी ड्रोन एफ–१६ लडाकु विमानमार्फत खसालेको जनाएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार  ०९ : ५४  बजे