रोल्पाका भाइरल तीन बालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाइने

काठमाडौं, ९ साउन । रोल्पामा वर्षाको बीच रेनकोट ओढेर विद्यालय जाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका तीन बालिकाले अब उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने भएका छन्।

रुन्टीगढी गाउँपालिका–४ टोलबाङका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई हाल अध्ययनरत एडभान्स चाइल्ड केयर इङ्लिस बोर्डिङ स्कुलले कक्षा–६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ। कक्षा–७ देखि स्नातक तहसम्मको सम्पूर्ण अध्ययन खर्च भने रुन्टीगढी गाउँपालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएको छ।

शुक्रबार समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा गाउँपालिका अध्यक्ष जनक पुन, विद्यालयका प्रिन्सिपल तेजबहादुर पुन र भिडियो खिच्ने लोकेन पुनलगायतको टोली बालिकाहरूको घर पुगेको थियो। त्यहाँ अभिभावकसँग छलफलपछि उच्च शिक्षासम्म निःशुल्क अध्ययन गराउने सहमति भएको हो।

हाल तीन वर्षीया सियाँ नर्सरीमा तथा पाँच र छ वर्षका दुई मनजीता क्रमशः एलकेजी र कक्षा–१ मा अध्ययनरत छन्। उनीहरूका बुबाहरू रोजगारीका लागि विदेशमा छन्।

वर्षाको समयमा रेनकोट ओढेर उकालो बाटो हुँदै विद्यालय जाँदै गरेका तीन बालिकाको भिडियो केही दिनयता सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेपछि उनीहरूको शिक्षामा सहयोग जुटाउने पहल सुरु भएको हो।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार  ०९ : ३३  बजे