काठमाडौं, ८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट–यूजी (NEET-UG) परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न दोषीमाथि कडा कारबाही गर्न नयाँ कानुन ल्याउने घोषणा गर्नुभएको छ।
बिहीबार मध्यराति देशका विद्यार्थीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट रोक्न कडा सजाय, फास्ट ट्र्याक अदालतमार्फत सुनुवाइ तथा दोषीलाई शीघ्र कारबाही गर्ने व्यवस्था समेटिएको विधेयक आगामी साता संसद्मा दर्ता गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्तावमाथि छलफल हुनेछ भने आगामी सोमबारदेखि सुरु हुने संसद्को बर्खे अधिवेशनको दोस्रो साताभित्र विधेयक पेश गरी यथाशीघ्र पारित गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री मोदीले परीक्षा प्रणालीको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै युवाको भविष्यसँग खेलबाड गर्ने कसैलाई पनि नछाडिने चेतावनी दिनुभयो। उहाँले नयाँ कानुनले परीक्षा प्रणालीलाई सुरक्षित, विश्वसनीय र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यार्थी तथा अभिभावकलाई धैर्य गर्न आग्रह गर्दै उहाँले प्रश्नपत्र चुहावट लाखौँ विद्यार्थी र परिवारका लागि अत्यन्तै पीडादायी विषय भएको उल्लेख गर्नुभयो। दोषीहरूलाई पक्राउ गरी जेल पठाइएको र एक वर्ष खेर जान नदिन २२ लाख विद्यार्थीको पुनः परीक्षा सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनुभयो।
यसैबीच, विद्यार्थी आन्दोलनको समर्थनमा २६ दिनदेखि अनशनमा रहनुभएका सामाजिक अभियन्ता सोनम वाङचुकले शुक्रबार मध्यराति आफ्नो अनशन तोड्नुभएको छ। वाङचुकले अनशन अन्त्य गरेपछि प्रधानमन्त्री मोदीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभएको छ।







प्रतिक्रिया